राममणि दाहाल
मकवानपुर, साउन १४ गते। बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा नियुक्त पुनर्गठन, कार्यविभाजन गरिएको छ।
प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार तीन जनालाई मन्त्री पदमा नियुक्तिसँगै मन्त्रिपरिषद् पुनर्गठन, कार्यविभाजन गर्नुभएको हो।
प्रदेश सभा सदस्य गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई बुधबार मन्त्रीमा नियुक्त हुनुभएको हो। नवनियुक्त तीनै जना कांग्रेसबाट मन्त्री बन्नुभएको हो। लम्साल धादिङका तथा गुरुङ र श्रेष्ठ चितवनका हुनुहुन्छ।
लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने गरी नियुक्ति भएको बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयो।
प्रदेश सरकार नवनियुक्त मन्त्रीको शपथ ग्रहण समारोह बिहीबार दिउँसो १ बजे रहेको उहाँले बताउनुभयो। लम्साल कांग्रेस संसदीय दलका प्रमुख सचेतक र गुरुङ सचेतक हुनुहुन्छ।
मुख्यमन्त्री लामाले यसअघि चार जना मन्त्रीलाई पदमुक्त र मंगलबार एक मन्त्रीले राजीनामा दिएपछि पाँच वटा मन्त्रालय मन्त्रीबिहीन बनेको थियो।
संस्कृति तथा पर्यटन मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै लिने गरी कार्यविभाजन गरिएको छ।
१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा छ वटा मन्त्रालय नेकपा एमालेको भागमा परेको छ।