• १६ साउन २०८२, शुक्रबार

स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै रामपुर

blog

सूचना सङ्कलन कार्यशालामा सहभागी सरोकावालाहरू ।

इमान सिं राना

रामपुर  (पाल्पा), साउन १५ गते । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो रामपुर” पाठ्यपुस्तक निर्माण गर्न तयारी थालेको छ । स्थानीय पाठ्यक्रम लागु भएको दुई वर्षपछि पाठ्यपुस्तक निर्माण गर्न लागेको हो ।

नगरभित्रका वडा तथा बस्तीको भूगोल, धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका विषयसँगै आर्थिक, समाजिक, सांस्कृतिक पक्षलाई  समेटेर कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक तयार गर्न लागेको हो । नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि कार्यदल गठन गठन गरेको थियो । 

कार्यदलले नगरका १० वटै वडामा पुगेर वडा तथा बस्तीको भूगोल, इतिहास , स्थानीय सरकार, सांस्कृतिक सम्पदा, वन वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार तथा पर्यटन, सामाजिक विकास, स्थानीय विकासका पूर्वाधार, विपद व्यवस्थापन र सुरक्षा गरी ८ वटा विषय वस्तुमा आधारित रहेर सूचना सङ्कलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटाले बताउनुभयो । वडावासीको प्रत्यक्ष सहभागितामा हरेक बस्तीको यथार्थ वस्तुस्थिति बारे जानकारी सङ्कलन गरिएको देवकोटाले बताउनुभयो ।  

सङ्कलित सूचनाको आधारमा विषयवस्तु छनाेट गरी पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यलाई अगाडि बढाउने कार्यदलले जनाएको छ । नगरपालिकाले शैक्षिक सत्र २०८० मा स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गरेको थियो । पाठ्यपुस्तकको आवश्यकता महशुस गरेर यस वर्ष निर्माणको तयारी थालिएको शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताउनुभयो । पाठ्यक्रम कार्यान्वयन र प्रभावकारी कक्षा शिक्षणका लागि पाठ्यपुस्तक सहित सन्दर्भ सामग्री निर्माण गर्न लागेको हो ।

पठनपाठनमा एकरूपता ल्याउनका लागि स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागिएको नगरपालिका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । स्थानीय वस्तुस्थितिको बारेमा जानकारी दिन पाठ्यक्रम लागु गरेर पाठ्यपुस्तक निर्माणको काम सुरु गरेको थापाले बताउनुभयो । स्थानीय शिक्षकहरूको सक्रियता र स्थानीय व्यक्तिहरूसँग सूचना सङ्कलन गरी सबैको सहभागितामा तयार पारिएको पुस्तक वस्तुनिष्ठ, विश्वसनीय र प्रभावकारी हुने भएकाले स्थानीय शिक्षकहरूलाई नै परिचालन गरिएको जानकारी दिनुभयो ।

उपप्रमुख बालकुमारी थापाले पाठ्यक्रम लागु भए पनि पाठ्यपुस्तक नहुँदा शिक्षक विद्यार्थीलाई पठन पाठनमा असहज भएका कारण पुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागेको बताउनुभयो । प्रवक्ता कपिलबहादुर खाँणले नगर भित्र रहेका जातजाति, भाषा, संस्कृति लगाएत स्थानीय विषयबारे अभिलेख सहित विद्यार्थीलाई शिक्षण र भावि पुस्तालाई अध्ययन गर्न पाठ्यपुस्तक महत्त्वपूर्ण हुने बताउनुभयो ।