• १५ साउन २०८२, बिहिबार

नमुना बन्दैछ द्रुतमार्गको लेनडाँडा खण्ड (फोटो फिचर)

blog

काठमाडौँ, साउन १४ गते । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्त्वको काठमाडौँ-तराई-मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको काम धमाधम भइरहेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ वटा प्योकजमा छुट्याएर निर्माण भइरहेको छ । तीन वटा सुरुङ निर्माण भइरहेका छन् भने अन्य तीन सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य जारी छ । निर्माणाधीन तीन वटा सुरुङमार्गको लम्बाइ छ दशमलव ६६९ किमीमध्ये पाँच दशमलव पाँच सय २८ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भएका छन् ।


लेनडाँडामा रहेको निजगढ-काठमाडौँतर्फको एक दशमलव ६१२ किमी र काठमाडौँ-निजगढतर्फको एक दशमलव छ सय ३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ वटा पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् । बाँकी चार वटा पुल खोकना क्षेत्रमा रहेका छन्। सो क्षेत्रमा जग्गा अधिग्रहण सम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ । द्रूतमार्गमा ८१ मिटर अग्ला पुल निर्माण हुने छन् । हालसम्म पाँच स्थानका पुल निर्माण भइसकेका छन् ।


प्रस्थान विन्दु ललितपुरको खोकना र अन्तिम विन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमवल ९७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुने छ । द्रूतमार्गमा १० दशमवल ३०९ किमी लम्बाइको छ वटा सुरुङ बन्ने छन् । 


आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । सोही वर्षको मङ्सिरदेखि सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रूतमार्गको ‘ट्रयाक’ निर्माण प्रारम्भ भएको थियो । 


Author
सुजन गुरुङ

उहाँ गोरखापत्रको फोटो पत्रकार हुनुहुन्छ ।