• ४ चैत २०८२, बुधबार

डढेलो नियन्त्रणको लागि सचेतना र्‍याली

blog

वन डढेलो व्यवस्थापन सप्ताह अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा निकालिएको सचेतना र्‍याली । तस्बिर सौजन्य : डिभिजन वन कार्यालय रौतहट

प्रवीण कुमार शर्मा 

रौतहट, चैत ४ गते । वन डढेलो नियन्त्रणको डिभिजन वन कार्यालय रौतहटले सचेतना अभियान सञ्चलान गरेको छ । अभियान अन्तर्गत बुधबार कार्यालयले चन्द्रनिगाहपुरमा सचेतना र्‍याली निकालेको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको सहकार्यमा निकालिएको सचेतनामूलक र्‍याली पश्चात कोणसभा आयोजना गरी सर्वसाधारणलाई डढेलो नियन्त्रणबारे जानकारी गराइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले बताउनुभयो ।

बजार क्षेत्रमा निकालिएको र्‍यालीमा सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाज, वन उपभोक्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको  थियो । र्‍यालीले नगरका विभिन्न भाग परिक्रमा गर्दै डढेलो नियन्त्रणसम्बन्धी सन्देश प्रवाह गरेको डिभिजन वन कार्यालय रौतहटका रेञ्जर लक्ष्मी कर्णले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह मनाइँदै आएकोमा यस वर्ष ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ चैत १ गतेदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ शुरु भएको रेञ्जर कर्णले जानकारी दिनुभयो ।

सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान तथा जनचेतनामुलक र्‍याली आयोजना गरि जनतालाई सुसुचित गराउने कार्य गरिएको उहाँले बताउनुभयो । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन आग्रह गरिएको छ । स्थानीयवासी, जनप्रतिनिधि लगायत सरोकार पक्षलाई यस अभियानमा जोडिन आग्रह गरिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । 

जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो । वनजङ्गलमा सुक्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे स्थानीयस्तरमा बृहद सचेतना फैलाउन सव डिभिजन कार्यालयलाइ निर्देशन दिइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख साहले बताउनुभयो । 

यससँगै ११ सदस्यीय वन डढेलो नियन्त्रण टोलि गठन गरिएको, फायर फाइटर टोलि परिचालन गरिएको उहाँले बताउनुभयो । यस जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालय रौतहटको समन्वयमा साझेदारी वनले समेत अभियान सञ्चालन गरेको रंगपुर साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष अशोकप्रसाद यादवले बताउनुभयो ।  

उहाँका अनुसार घाटगद्दीक्षेत्रको सरसफाइ कार्य गर्दै सम्भावित आगलागि नियन्त्रणका लागि आवश्यक व्यवस्थापन कार्यहरू गरिँदैछ । वन डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुख्खा घाँस, पातपतिङ्गर तथा ज्वलनशील पदार्थहरू हटाई सरसफाइ गर्ने कार्य जारी रहेको अध्यक्ष यादवले बताउनुभयो ।

रंगपुर साझेदारी वनद्वारा वन संरक्षण तथा डढेलो नियन्त्रणका लागि निरन्तर प्रयास भइरहेको उहाँको भनाइ छ । हाल उक्त साझेदारी बनसँग १५ हजार क्युबिक फीटभन्दा बढी सालको काठ स्टकमा रहेको छ ।

आवश्यक काठ लैजान आफ्नो कार्यक्षेत्र भित्रका नागरिकलाई रंगपुर साझेदारी बन उपभोक्ता समितिले अनुरोध गरेको छ । उक्त साझेदारी बनको कार्यक्षेत्रभित्र रौतहटका ४२ वटा वडा पर्दछ ।