राजकुमार भट्टराई
खोटाङ, चैत ४ गते । खोटाङमा भएको हेलिकाेप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा लास लिएर आएको हेलिकाेप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकाेप्टरमा लास नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो ।
हेलिकाेप्टरमा लास राखिएको बाकस नअटेपछि लास गाडीबाट पठाएर मृतकका आफन्त हेलिकाेप्टरमा गाउँ आएको पाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । शवको दाहसंस्कार गर्न गाउँ आएका स्थानीय चढेको हेलिकाेप्टर केपिलासगढी गाउँपालिका–२, खार्ताम्छाको बालाबेसीमा चैत ४ गते दिउँसो १२ बजे दुर्घटना भएको हो ।
काठमाडौँबाट बालाबेँसी पुगेर ल्यान्ड गर्ने क्रममा एयर डाइनेस्टिको हेलिकाेप्टर दुर्घटनामा परेको हो । सुरुमा बारीको डिलमा बसेको हेलिकाेप्टरलाई पुःन उठाएर बारीको बिचमा सार्न खोज्दा उछिट्टिएर माथिल्लो गह्राको भित्तामा बजारिएको थियो । जमिनमा घिसारिदै भित्तामा बजारिएको हेलिकाेप्टर क्षतविक्षत भएको छ ।
हेलिकाेप्टरमा चालक सविन थापासहित डाकमणि राई, बालकुमार राई, समला राई लक्ष्मी राई, काजीबहादुर राई रहेको डिएसपी बुढाथोकीले बताउनुभयो । दुर्घटनामा काजिमान राई घाइते भएका छन् । अन्य यात्रु सकुशल रहेका छन् । घाइते काजिमानलाई उपचारका लागि अर्को हेलिकाेप्टर मगाएर काठमाडौँ लगिएको छ ।
घाइते काजिमानसँगै दुर्घटना भएको हेलिकाेप्टरका चालक थापा पनि सोही हेलिकाेप्टरमा काठमाडौँ गएका छन् । दुर्घटना भएर क्षतविक्षत भएको हेलिकाेप्टर घटनास्थलमै रहेको छ ।