• ४ चैत २०८२, बुधबार

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

blog

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा ।

काठमाडौँ,  चैत ४ गते ।प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिनुभएको छ ।

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुग्नुभएको थियो ।

उहाँहरूबीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनमा विजय हुनुभएका नेताहरूलाई बधाई पनि दिनुभएको प्रेस सल्लाहकार रावलले बताउनुभयो ।प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तपाईंहरूले निर्वाचनमा भाग लिनुभयो ।यो निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका निर्वाह गर्नुभयो । यसका निम्ति सबैलाई धन्यवाद छ । निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।”

भेटका क्रममा नेकपाका संयोजक दाहालले भन्नुभयो, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान सक्ने सम्भावना थियो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।” सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उहाँले स्मरण गर्नुभयो ।

अस्तव्यस्त अवस्थामा रहेको मुलुकलाई सम्हालेर छ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उहाँहरूको भनाइ छ । 

यसअघि प्रधानमन्त्री कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायत राजनीतिक दलका नेता तथा प्रतिनिधिलाई भेट गरी निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिइसक्नुभएको उहाँको सचिवालयले जनाएको छ । रासस