जनार्जन खत्री
सर्लाही, साउन १४ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका –६, कामदमा बुधबार अपरान्ह सय वर्ष पुरानो घर भत्किएर बालकको मृत्यु भएको छ । मान्छे बस्न छाडेको २० वर्ष भइसकेको नवीन सिंहको घर भत्किँदा कामद गाउँको गौतम माझीका छोरा ६ वर्षीय अरुण माझीको मृत्यु भएको हो ।
भग्नावशेष अवस्थामा पुगिसकेको घरमा खेलिरहेका बालकमाथि घर भत्किएर च्यापेको स्थानीयको भनाइ छ । सशस्त्र द्वन्द्वको समयमा नवीन सिंहको परिवारले २०६२ सालतिर घर छाडेर काठमाडौं गएर बस्दैआएका छन् । सिंहको परिवारले छाडेको घरमा गाउँका बालबालिका भेला भएर खेल्ने गरेका थिए ।
बालबालिका खेलिरहेकै बेला माटो र इँटा जोडेर बनाइएको घर भत्किएको मृतक अरुणका नातेदार एवं स्थानीय ऋतुराज ऋषी (मुसहर) ले जानकारी दिनुभयो । भत्किएको घरभित्र अन्य बालबालिका पनि पुरिएको आशङ्का नेपाल प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारीहरुको छ । डोजरको सहायताले इँटा पन्छाउने काम भएको छ ।
भत्किएको संरचना हटाउँदा अरु मानवीय क्षति नभेटिएको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक बालकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।