• २२ असार २०८२, आइतबार

मनसुनजन्य विपद् : एक महिनामा पाँच सय परिवार प्रभावित

blog

गत असार ६ गते पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका – १ दुम्कीबासस्थित बाढीमा फसेको बसबाट यात्रुहरूको उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर ः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण 

काठमाडौं, असार २२ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार पछिल्लो ३० दिनमा मनसुनजन्य विपद्बाट पाँच सय ११ परिवार प्रभावित भएको छ ।

प्राधिकरणले आइतबार साँझ सार्वजनिक गरेको प्रतिवेदन अनुसार गएको जेठ १५ गतेदेखि असार १३ गतेसम्म आगलागीका घटना २४७, वन डढेलो सात, हावाहुरी ४५, सर्पदंश २२, जनावर आक्रमण ४५ र लेक लागेको १५ वटा घटना घटेका छन् । जसमध्ये आगलागीबाट तीन, हावाहुरीबाट एक, सर्पदंशबाट दुई, जनावर आक्रमणबाट आठ र लेक लागेर चार गरी जम्मा १२ जनाको मृत्यु भएको छ । यसैगरी, यो अवधिमा ६३ जना घाइते भएका छन् । 


प्राधिकरणका अनुसार गत वर्ष यो अवधिमा बाढी, पहिरो, भारी वर्षा र चट्याङ्गको सात सय ४८ घटना घट्दा २६३ जनाको मृत्यु भएको थियो । गएको एक महिनामा मनसुनजन्य विपद् कोशीमा ७२, मधेशमा चार, लुम्बिनीमा ४२, बागमतीमा ६८, गण्डकीमा ३२, कर्णालीमा २९ र सुदूरपश्चिममा १६ वटा घटना घटेका छन् । 

ती विपद्बाट कोशीमा ८६, मधेशमा दुई, लुम्बिनीमा १८७, बागमतीमा १०२, गण्डकीमा ४६, कर्णालीमा ७४ र सुदूरपश्चिममा १४ गरी जम्म ५११ घर प्रत्यक्ष प्रभावित भएका हुन् ।