गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १६ गते । सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग, बिरामी तथा मृतकका आफन्त र अन्य कल्याणकारी कार्यका लागि एक अर्ब ८५ करोड १२ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगार बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०८१/८२ मा एक हजार ५१७ जना वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका आफन्तलाई एक अर्ब दुई करोड ३४ लाख रुपियाँ आर्थिक राहत वितरण गरेको जानकारी गराएको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले गत आवमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग र बिरामी भएर आएका ८६७ श्रमिकलाई २४ करोड ९९ लाख रुपियाँ सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । बोर्डले यस्ता व्यक्तिको अवस्था र विशेषज्ञ चिकित्सकले गरेको सिफारिसका आधारमा न्यूनतम ५० हजारदेखि अधिकतम १० लाख रुपयाँसम्म राहत रकम उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभयो । गत आवमा मात्रै विभिन्न देशबाट आएका एक हजार ८६ वटा शव ढुवानी गरेर मृतकको घरसम्म पु¥याउँदा मात्रै तीन करोड २५ लाख रुपियाँ खर्च भएको तथ्य बोर्डले सार्वजनिक गरेको छ ।
यस्तै यस अवधिमा वैदेशिक रोजगारमा समस्या परेका २२५ जना श्रमिकको उद्धार तथा खोजतलास गर्दा ११ लाख, ४१८ वटा शव झिकाउँदा तीन करोड २५ लाख रुपियाँ खर्च भएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर खालका स्वास्थ्य समस्या भएमा ५० हजार रुपियाँसम्म आर्थिक सहयोग गर्ने व्यवस्था अनुसार ४४२ श्रमिकका परिवारको औषधोपचारका लागि एक करोड ६८ लाख रुपियाँ खर्च भएको छ ।