• ११ असोज २०८२, शनिबार

यसरी लागुऔषधमा फस्दैछ युवा, बढ्दै कारोबार

blog

लागुऔषधसहित पक्राउ परेका एक जना कारोबारी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, असोज ११ गते ।
एघार वर्षकै उमेरमा रमेश यादवले सहपाठीको संगतमा लागुऔषध सेवन सुरु गरे । कक्षा १२ अर्थात् १६–१७ वर्षसम्म उनी गाँजा, ट्याब्लेट, बोतल र इन्जेक्सनको लतमा लठिसकेका थिए । सहपाठीहरू रन्जन दास, पिताम्बर दास, मोहन साह पनि त्यस्तै अवस्थामा थिए । यसका कारण उनीहरूको पढाइ, पारिवारिक जीवन र सामाजिक सम्बन्ध निकै प्रभावित भयो ।

विवाहयोग्य उमेर पुगे पनि उनी योग्य जीवनसाथी पाउन सक्दैनथे । अन्ततः गरिब घरकी छोरीसँग विवाह भए पनि जिम्मेवारी निर्वाह गर्न असमर्थ रहे । लागूऔषध सेवनले स्वास्थ्य, सीप र मानसिक अवस्था कमजोर भएपछि उनीहरूका लागि पश्चाताप बाहेक विकल्प रहेन ।

मधेश प्रदेशका सीमा क्षेत्रहरू लागुऔषध कारोबारको हब बन्दै गएको छ । भारतीय सीमावर्ती जिल्लासँग जोडिएका मधेशका आठवटै जिल्लामा ग्रामीण डगर र कच्ची बाटो प्रयोग गरेर लागुऔषध नेपाल भित्र्याइने र देशका अन्य शहरमा पठाइने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख अनुसन्धान शाखा अधिकारी प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार तीन वर्षमा तीन हजार २३६ जनालाई लागुऔषध घटनामा पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये ९० प्रतिशत युवाहरू नै रहेको र मुख्यतः १२–३५ वर्ष उमेर समूहका किशोरकिशोरी बढी संलग्न रहेको पाइएको छ ।

तीन वर्षको अवधिमा छ लाख ८४ हजार ९८५ तौल/थान प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ । यसमा गाँजा ३० हजार ७०३ किलो, ब्राउन सुगर ७० ग्राम, चरेश ७८१ किलो, अफिम ४६ किलो, हिरोइन ४.३ किलो, ट्याबलेट चार लाख ८७ हजार १९५ थान, बोतल १९ हजार १४७ र इन्जेक्सन एक लाख ७८ हजार ६४३ थान रहेका छन् ।

प्रहरी अनुसन्धानअनुसार किशोरकिशोरी लागुऔषधमा लाग्नुका कारणमा पढाइमा असफलता, अभिभावकको ध्यान अभाव, साथीको प्रभाव, सामाजिक सञ्जाल र चलचित्रको प्रभाव, सजिलो पैसा कमाउने लालसा लगायत रहेका छन् ।

लागुऔषध सेवनले शारीरिक, मानसिक, पारिवारिक, सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पार्छ । यसले एचआईभी÷एड्स, हेपाटाइटिस, तौल घट्ने, डिप्रेशन, स्मरणशक्ति कमजोर हुने, पारिवारिक झगडा र चोरीजस्ता अपराधमा संलग्नता बढ्ने गर्छ, चिकित्सक दिलिपकुमार साहको कथन छ ।

नागरिक समाजका अध्यक्ष थानसिंह भनसालीले युवाको उर्जा र सिर्जनशील क्षमता आफ्नो जीवन निर्माण र सकारात्मक गतिविधिमा खर्च गर्नु आवश्यक भएको बताउँदै युवाले सिर्जनशील गतिविधि मार्फत भविष्य सुरक्षित गर्दा देशको विकासमा पनि योगदान पुग्छ ।