दमक, मङ्सिर २७ गते । राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवा मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा भ्रष्टलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेनजीहरुको उदय भएको बताउनुभयो। जेनजी आन्दोलनका क्रममा दाहिने खुट्टा गुमाउनुभएका पोर्तेलले असली जेनजीहरु ओझेलमा परेको र नक्कली जेनजीहरु हावी भएको आरोप लगाउनुभयो । आफू सक्कली घाइते तथा जेनजी नै भएको बताउँदै अध्यक्ष पोर्तेलले जेनजी आन्दोलनलाई दमन गर्नेहरुलाई कानुनी दायराम ल्याउन वर्तमान सरकारलाई अनुरोध गर्नुभयो ।
सो अवसरमा जेनजी शहीद श्रेयम चौलागाईका बुबा गणेशप्रसाद चौलागाईले वर्तमान सरकार जेनजीको भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो। जेनजी युवा अजयले जेनजीलाई कमजोर नठान्न चेतावनी दिनुभयो।
जेनजी आन्दोलनका घाइते, सहिद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण सभामा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो । जेनजी युनाइटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा गर्न सभा गरिएको हो ।