• २३ वैशाख २०८३, बुधबार

ज्येष्ठ नागरिकमन्त्री वादीसँग राजदूत माओमिङबीच शिष्टाचार भेट

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग भेट गर्दै नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङ ।

काठमाडौँ, वैशाख २३ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा नेपाल र चीनबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सो मन्त्रालयले जनाएको छ । 

त्यस अवसरमा मन्त्री वादीले नेपाल ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनसँगको सहकार्यलाई सामाजिक विकास, महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, ज्येष्ठ नागरिक सेवा र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका क्षेत्रमा विस्तार गर्न सकिने बताउनुभयो । उहाँले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप परिणाममुखी बनाउन मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

भेटमा स्थानीय नेपाली महिलाद्वारा उत्पादित सामग्रीको प्रवर्द्धन तथा बजार पहुँच, नमूना ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना, अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष सेवा तथा सहायक सामग्री उपलब्धता गराउनेबारे छलफल भएको थियो । 

राजदूत माओमिङले नेपाल र चीनबीच रही आएको ऐतिहासिक, मैत्रीपूर्ण तथा पारस्परिक विश्वासमा आधारित सम्बन्धलाई उच्च महत्त्व दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, सशक्तीकरण र समावेशी विकासका क्षेत्रमा नेपाल सरकारसँगको सहकार्यलाई थप सुदृढ गर्दै लैजाने विश्वास दिलाउनुभएको थियो ।