• २७ मङ्सिर २०८२, शनिबार

एमाले ११ औं महाधिवेशन

१५ पदाधिकारीसहित २५१ सदस्यीय कमिटी चयन गर्ने

blog

पार्टी मुख्यालय च्यासलमा शुक्रबार बसेको नेकपा (एमाले) को सचिवालय बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २६ गते । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरेअनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।

अब एमालेको विधान महाधिवेशनले पारित गरेअनुसार नै सचिवालय रहने भएको छ । पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको रहने छ । २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बन्ने एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । 

महाधिवेशनका लागि हालका सबै पदाधिकारी रहेको अध्यक्ष मण्डल बनेको छ । त्यस्तै, प्रस्ताव लेखन र माइन्युट लेखन समिति गठन गरिएको छ । जसको जिम्मा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।

बैठकपछि पार्टी उपमहासचिव ज्ञवालीले बैठकले १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसका अतिरिक्त मंसिर २४ गते जेनजी आन्दोलनका प्रतिनिधिसँग गरिएको भनिएको सम्झौताप्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सरकारले निर्धारित कार्यक्षेत्रभन्दा बाहिर गएर संविधान संशोधन गर्ने सम्झौता गरेको भन्दै एमालेले आपत्ति जनाएको नेता ज्ञवालीले बताउनुभयो । महाधिवेशनको उदघाटन शनिबार भक्तपुरको सल्लाघारीमा मध्यान्ह १२ः३० बजे सुरु हुने उहाँको भनाइ छ ।