काठमाडौँ, वैशाख २४ गते । सातामा दुई दिन सार्वजनिक बिदा दिँदा विद्यार्थीको पढाइमा पर्न सक्ने सिकाइ उपलब्धिलाई यथावत् राख्न दुई वटा प्रस्ताव अगाडि सारिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा पाठ्यक्रम विकास केन्द्रले अध्ययन गरेर यस्तो प्रस्ताव अघि सारेको हो । जस अनुसार विद्यार्थीलाई पढाइसँगै परियोजना कार्यमा पनि अभ्यस्त गराउने पहिलो प्रस्ताव छ । केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार विद्यार्थीले सोमबारदेखि शुक्रबारसम्म कक्षामा सिकेको विषयलाई आइतबार बिदाको दिन व्यवहारमा उतार्न लगाइने छ । यस दिन आवश्यकता अनुसार विद्यार्थीलाई पाठ्यक्रमले तोके अनुसार अनुसन्धानमा लगाउने, सामाजिक गतिविधिबारे अध्ययन गर्न लगाउने तथा घरमै पनि केही सिप सिक्न लगाउनेलगायतका विकल्प दिइने छ ।
अहिले पनि विद्यार्थीलाई परियोजना कार्यमा लगाउने विषय पाठ्यक्रममा समावेश गरिएको छ । अबदेखि भने यसको दायरालाई अझ फराकिलो बनाइने र विद्यार्थीको अभ्यासमूलक क्रियाकलापलाई सिकाइ उपलब्धिसँगै अनिवार्य रूपमा जोडिने छ । केन्द्रले यो प्रस्ताव मन्त्रालयमा पठाएको पौडेलले जानकारी दिनुभयो ।
त्यससँगै अहिले विद्यालयले दिँदै आएको हिउँदे र बर्से बिदा कटौती गर्ने अर्को प्रस्ताव पनि केन्द्रले गरेको छ । अहिले विद्यालयले हिउँदे र बर्सातको समयमा गरेर आवश्यकता अनुसार वर्षमा ४५ दिन बिदा दिन पाउँछन् । त्यसबाहेक विद्यालयले पाँच दिन थप स्थानीय बिदा दिन पाउने कानुनी व्यवस्था छ ।
दसैँतिहारलगायतका अन्य सार्वजनिक बिदा यसमा गणना हुँदैन । केन्द्रले मन्त्रालयमा पठाएको प्रस्तावमा ४५ दिनको बिदालाई १५ दिन कटौती गरेर ३० दिनमा झार्न सकिने उल्लेख छ तर यसो गर्दा हालको शिक्षा नियमावलीलाई संशोधन गर्नुपर्ने हुन्छ । किनकि शिक्षा नियमावलीको दफा ८५ मा एक शैक्षिक सत्रमा हिउँदे वा बर्खे वा दुवै गरी ४५ दिन स्कुल बन्द गर्न पाइने उल्लेख गरिएको छ । पाठ्यक्रम विकास केन्द्रको प्रस्ताव अनुसार यस्तो बिदालाई ३० दिनमा झार्नुपरेमा नियमावलीको यस दफामा परिमार्जन गर्नु पर्छ ।
शिक्षा नियमावलीमा एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खोलेर काम गर्नुपर्ने उल्लेख छ । यसको अर्थ २२० दिन नै विद्यार्थीलाई पढाउनु पर्छ भन्ने होइन । परीक्षा, नतिजा तयारीलगायतलाई पनि यसैमा समावेश गरिएको छ तर विद्यालय खुलेका दिनमध्ये र १८४ दिन पढाइ सञ्चालन गर्नु पर्छ । सरकारले आइतबारसमेत बिदा दिने निर्णय गरेपछि विद्यालय खुल्ने समय ३८ दिन घटेर १५४ दिन हुने छ । यस्तोमा पाठ्यक्रम सकिँदैन कि भन्ने आम चासो छ । तर सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा आइसकेको र यस वर्ष शैक्षिक सत्रसमेत दुई साता ढिला सुरु भएकाले विद्यालय थप दबाबमा परेका छन् । दुईदिने बिदा कार्यान्वयनमा आइसक्दा पनि सरकारबाट स्पष्ट निर्देशन आउन ढिलो हुँदा विद्यालय दोधारमा परेका छन् ।
तर केन्द्रले तयार पारेको योजना शिक्षा, विज्ञान तथा प्रविधि अध्यक्ष रहने राष्ट्रिय पाठ्यव्रmम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले पारित गरेपछि मात्रै कार्यान्वयनमा जाने छ ।
वैशाख १५ मङ्गलबारदेखि विद्यालय भर्ना अभियान सुरु गरी शैक्षिक सत्र औपचारिक रूपमा सुरु गरिए पनि पठनपाठन २१ गतेदेखिमात्र सञ्चालन हुने छ । यद्यपि धेरै जसो स्थानीय तहले एक साताअघि नै भर्ना अभियान र पठनपाठन सुरु गरिसकेका छन् ।
गत वर्ष पनि शिक्षकको आन्दोलन, जेनजी आन्दोलन र निर्वाचनका कारण समयमै पाठ्यक्रम पूरा गर्न विद्यालयलाई हम्मे हम्मे परेको थियो ।