नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर २७ गते । आजभोलि भान्छामा अचार अनिवार्यजस्तै बन्दै गएको छ । प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो नै हुन्छ ।
जिव्रोलाई ट्वाक्क बनाउने अचार आजभोलि आम्दानीको स्रोतपनि बन्दै गएको छ । बेरोजगार बनेर घरमै बसिरहनुभएकी मध्यनेपाल नगरपालिका –५ पराजुलीबेंसीकी शोभा रानामगरले सुरु गर्नुभएको अचार उद्योगले उहाँलाई मात्र होइन, परिवारका चारजना सदस्यलाई स्वरोजगार बनाएको छ ।
एक बर्षअघि मध्यनेपाल नगरपालिका –४ दुईपिप्लेमा सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको तीन दिने अचार बनाउने तालिम लिएपछि शोभाका हात खाली भएका छैनन् । गाउँघरमा पाइने मौसमअनुसारको लप्सी, आँप, अमला, रूख कटहर, लसुन, टिमुरको छोप, बन्दा, काउली, अकबरे खुर्सानी, काँक्रो, करेला, मेथीको टुसा, मुला आदिको अचार बनाउने कामले उहाँलाई फुर्सदको समय छैन् ।
अचारमा उहाँको ब्राण्ड छ–‘लाफाको अचार’ । उहाँ भन्नुहुन्छ, “‘लाफा’को अर्थ मगर भाषामा ‘साथी’ हो । मैले बनाएको अचार अहिले जन–जनको भान्सामा साथी बनिरहेको छ । यसैमा म खुसी छु ।”
उहाँले उत्पादन गरेको अचार लमजुङका सहरबजारमा मात्र नभई तनहुँको दमौली, कास्कीको पोखरा, संघीय राजधानी काठमाडौं तथा चितवनको नारायणगढ, भारतपुरसम्म पनि पुग्ने गरेको छ । विदेशमा जानेहरूले कोसेलीका रूपमा समेत अचार लैजाने गरेका छन् ।
अचार बनाउने उद्योगले शोभालाई मात्र नभइ घरका अन्य चार जनाले समेत रोजगारी पाउनुभएको छ । सासूआमा, ससुरा–बा, छोराछोरीले उद्योगमा काम गर्ने गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा दुबई गएर बिदामा घर आउनुभएका श्रीमानले समेत उत्पादित अचार बजारसम्म लैजान सघाउने गर्नुभएको शोभाले बताउनुभयो । अचारको माग बढी भएका बेला दैनिक ज्यालादारीमा स्थानीय चार–पाँच जनालाई काम दिने गरेको उहाँले बताउनुभयो ।
उत्पादित अचार विक्रीको लागि बजार अभाव नभएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अचार बनाएर फेसबुक र टिकटकमा राखेपछि माग गर्नेहरु फोन आउन थाल्छ । १५ दिनको बिचमा ६० हजार रुपियाँको अचार बिक्री गरें ।”
उहाँले तरकारी तथा फलफुलका मात्र हैन माछमासुको समेत अचार बनाउने गर्नुहुन्छ । सिद्रा माछासँगै बंगुर, कुखुरा, खसीको मासुको समेत अचार बनाउने गरेको उहाँले बताउनुभयो । अन्य मासुको प्रति किलो ९ सय र खसीको मासुको अचार प्रतिकिलो २ हजार १ सय रुपियाँमा विक्री गर्नेगरेको बताउनुभयो ।