नेत्र शाही
जुम्ला, मङ्सिर, २७ गते । जुम्लाले चार दशकपछि नेपाल सरकारको मन्त्री हुने अवसर पाएको छ ।
सरकारले जुम्ला निवासी लेखक तथा जनस्वास्थ्यविज्ञ माधव चौलागाईलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा वन तथा वातावरण मन्त्री बन्ने अवसर मिलेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेर राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार नै माधव चौलागाईले वन तथा वातावरणमन्त्रीको शपथ लिनु भएको छ ।
कार्की नेतृत्वको सरकार बने लगत्तै कर्णालीबाट मन्त्री बन्ने चर्चामा रहनुभएका चौलागाईलाई कार्की मन्त्रिपरिषद्मा छिर्न भने करिब तीन महिना लाग्यो ।
गत असोज पहिलो साता नै काठमाडौँमा रहेका कर्णालीका विज्ञ र युवाहरूले भूगोलको प्रतिनिधित्व गराउँदै मन्त्री बनाउन तीन जनाको नाम सिफारिस गरेका थिए ।
जसमा विज्ञहरूको तर्फबाट नरबहादुर कार्की र माधव चौलागाईं हुनुहुन्थ्यो । त्यो बिचमा तीन पटक मन्त्रिपरिषद् विस्तार हुँदा यी तीनै नाम सार्वजनिक भएनन् ।
यस बिचमा हुम्लाकी टासी ल्हान्जोम र दलित अभियन्ता दैलेखका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी भएको थियो ।
तर, यी दुवै जना विवादमा परेपछि प्रधानमन्त्री कार्कीले शपथ ग्रहण अगाडि उनीहरूको नाम हटाउनु भएको थियो । शुक्रबार चाैथो पटक मन्त्रिपरिषद् विस्तार हुँदा चौलागाई भने मन्त्री बन्नु भयो ।
तत्कालीन खस साम्राज्यको राजधानी, नेपाली भाषाको उद्गमस्थल रहेको जुम्लाले झण्डै ४० वर्षमा दलीय सरकारले राज्यमन्त्रीहरू बनाएपनि पूर्ण मन्त्री बनाउन सकेका थिएनन् ।
पूर्व राज्यमन्त्री बलबहादुर महतका अनुसार जुम्लाबाट वि.सं २०३७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा प्रधानमन्त्री भएको समयमा स्वर्गीय नेता हरिश्चन्द्र महत जलस्रोतमन्त्री हुनु भएको थियो ।
वि.सं २०४०/०४१ सालमा उहाँ पुन निर्माण तथा यातायात मन्त्री हुनु भएको थियो । यस पछि सांसद धेरै भए पनि पूर्ण मन्त्री हुन दलले जुम्लालाई अवसर दिएनन् । वि.सं २०४८ सालमा जुम्लाबाट प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत विजयी, वि.सं २०५१ सालमा नेमकिपाकै भक्तबहादुर रोकाया विजयी हुनु भयो ।
महत नेकपा एमाले र रोकाया नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । तत्कालीन समयमा भक्तबहादुर रोकाया वनराज्य मन्त्री हुनु भयो । वि.सं २०५६ सालमा नेकपा एमालेबाट देवीलाल थापा विजयी हुनु भयो ।
दस वर्षीय माओवादी जनयुद्ध पछिको शान्ति प्रक्रिया पछि डिल्लीबहादुर महत शान्ति राज्यमन्त्री मन्त्री हुनु भयो ।वि.सं २०६४ सालको पहिलो संविधानसभामा नेकपा माओवादी पार्टीबाट नरेश भण्डारी अत्याधिक वहुमतले विजयी हुनुभयो ।
दोस्रो संविधानसभाको निर्वाचन २०७० मा जुम्लाबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही विजयी हुनुभयो । विं.सं २०७४ सालको निर्वाचनमा नेकपा माओवादीका गजेन्द्रबहादुर महत विजयी हुनुभयो। वि.सं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका ज्ञानबहादुर शाही कांग्रेस माओवादीको गठबन्धनलाई हराउँदै विजयी हुनु भयो ।
तर कुनै पनि दलले जुम्लाबाट मन्त्री बनाउन सकेनन्। यस विचमा नेकपा एमालेबाट समानुपातिक सांसद बलबहादुर महत पर्यटन संस्कृति राज्यमन्त्री र नेकपा माओवादीबाट गोमा गौतम कुँवर पशुपक्षी राज्यमन्त्री हुनु भयो ।
तर हरिश्चन्द्र महतपछि ४० वर्षे इतिहासमा राजनैतिक दलबाट पूर्ण मन्त्री नपाएको जुम्लाले यति बेला चौलागाईलाई मन्त्री बनाएको छ । यतिबेला सरकारले चौलागाईलाई अगाडि बढाएपछि जुम्ला उत्साहित भएको छ ।
झण्डै चार दशकपछि जुम्लाले मन्त्री पाएकोमा सकारात्मक प्रतिक्रिया पनि आएको छ । संविधानसभा सदस्य नरेश भण्डारीले नवनियुक्त मन्त्री चौलागाईलाई बधाई दिँदै लेख्नु हुन्छ, पञ्चायतकालमा हरिश्चन्द्र महत पहिलो र दोस्रो पटक गणतन्त्रपछि ४० वर्षको अन्तरालमा जुम्लाले पूर्ण मन्त्री पाएको छ ।
यि दुुवै मन्त्री निर्दलीयबाट भएका छन् । यो तथ्य जुम्ला र कर्णाली प्रति राजनितिक दलहरूले प्रयोग गर्ने लेन्सको महत्त्वपूर्ण सूचक हो । नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईले मन्त्रीको पदभार ग्रहण गरेपछि जेन्जीको माग संस्थागत गर्ने र कर्णालीको समृद्धिमा छोटै समय भए पनि प्रथामिकता दिने बताउनु भएको छ ।
मन्त्री माधव चौलागाई को हुनुहुन्छ ?
जुम्ला तातोपानी गाउँपालिका‐५, लाम्राका चौलागाईं मध्यमवर्गीय परिवारका हुनु हुन्छ। परिवारमा आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् । लाम्राकै तत्कालीन दुर्गा निम्न माध्यमिक विद्यालयबाट औपचारिक शिक्षाको वि.सं २०५१ मा सालमा जुम्लाको हिमशिखर माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण, २०५४ मा सिटिइभिटी अन्तर्गत रहेको कर्णाली प्राविधिक शिक्षालयबाट (सिएमए) अध्ययन गर्नुभयो ।
वि.सं २०५८ सुर्खेत शिक्षा क्याम्पस वीरेन्द्रनगरबाट उच्च शिक्षाको सुरुवात गर्नुभएका चौलागाईले सन् २००३ मा थाइल्यान्डको चुलालोङ्गोकोर्ण विश्वविद्यालयबाट पब्लिक हेल्थमा स्नातकोत्तर गर्नुभएको छ ।
यसैगरी सन् २०११ मा त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ । पछिल्लो समय उहाँ त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा एमफिल गरिरहनु भएको छ ।
चौलागाई लेखक पनि हुनुु हुन्छ । चौलागाईंले आफ्ना लेखमार्फत कर्णालीको ऐतिहासिक, भाषिक, सामाजिक–सांस्कृतिक विविधताको उत्थान गर्दै आउनु भएको छ । उहाँले पछिल्लो खस सभ्यताको ईतिहासमा रहेर लेखिएको सपादलक्ष पुस्तक पनि प्रकाशन गर्नु भएको थियो ।
पछिल्लो समय चर्चित बनेको ‘जुरुक्कै कर्णाली’ गीतका लेखक चौलागाईं कर्णालीमा हुने नीति संवाद ‘कर्णाली उत्सव’ कुडा कर्णालीका र ‘कर्णाली साहित्य महोत्सव’का आयोजक पनि हुनु हुन्छ ।
उहाँको सहभागितामा हरेक महिना कर्णालीका केही वुद्धिजीबीहरूको सहकार्यमा काठमाडौँमा ‘कर्णाली डिस्कोर्स’ समेत सञ्चालन हुँदै आएको छ ।