• २४ वैशाख २०८३, बिहिबार

गोरखापत्रको पुनर्संरचना अपरिहार्य : सञ्चारमन्त्री डा.तिमिल्सिना

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना

  •  नेपाल सरकार गोरखापत्र संस्थान ऐनमा समयसापेक्ष परिमार्जन गर्दै यसलाई एक स्वायत्त, व्यावसायिक र नवीन सञ्चार संस्थाको रूपमा विकास गर्न प्रतिबद्ध छ।

गोरखापत्र अनलाइन 

काठमाडौं, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य आवश्यकता भएको बताउनु भएको छ । 

गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेशका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । 

मन्त्री डा.तिमिल्सिनाले भन्नुभयो, ‘‘नेपाल सरकार गोरखापत्र संस्थान ऐनमा समयसापेक्ष परिमार्जन गर्दै यसलाई एक स्वायत्त, व्यावसायिक र नवीन सञ्चार संस्थाको रूपमा विकास गर्न प्रतिबद्ध छ। संस्थाको पुनर्संरचना आजको अपरिहार्य आवश्यकता हो ।’’ 

शुभकामनाको पूर्णपाठ यस प्रकार छ – 

शुभकामना सन्देश

गोरखापत्र नेपालबाट प्रकाशित पहिलो अखबार मात्र होइन, यो दक्षिण एसियाकै पत्रकारिताको एउटा दह्रो स्तम्भ हो । वि.सं. १९५८ वैशाख २४ गते साप्ताहिक रूपमा आफ्नो यात्रा प्रारम्भ गरेको गोरखापत्रले आज वि.सं. २०८३ वैशाख २४ गते १२६ औँ वर्ष प्रवेश गरेको छ। यस अवसरमा म सम्पूर्ण नेपाली जनसमुदाय, पाठकवर्ग र विशेषगरी नेपाली पत्रकारिता जगत्‌मा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।

गोरखापत्रको सवा शताब्दी लामो यात्रा गोरखापत्रको एकल यात्रा मात्र होइन, यो त सिंगो नेपाली पत्रकारिताको विकासक्रम, लोकतन्त्रको संघर्ष र सामाजिक-सांस्कृतिक रूपान्तरणको ऐतिहासिक अभिलेख पनि हो।

संस्थानको संस्थागत विकासका लागि २०१९ सालमा ऐन ल्याई २०२० सालमा गोरखापत्र संस्थान स्थापना भएयता यसले लामो यात्रा तय गरेको छ । सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै यस ऐतिहासिक संस्थाको पुनर्संरचना आजको अपरिहार्य आवश्यकता हो । नेपाल सरकार गोरखापत्र संस्थान ऐनमा समयसापेक्ष परिमार्जन गर्दै यसलाई एक स्वायत्त, व्यावसायिक र नवीन सञ्चार संस्थाको रूपमा विकास गर्न प्रतिबद्ध छ।

यसै सन्दर्भमा, संस्थानले आफ्नो स्थापनाको ६४ औं वार्षिकोत्सव तथा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा 'सुशासन' नामक विशेषाङ्क प्रकाशन गर्न लागेकोमा म खुसी व्यक्त गर्दछु ।

आम निर्वाचनमार्फत व्यक्त जनमतलाई सार्थक बनाउन वर्तमान सरकार 'सय दिनका सय कार्य' को स्पष्ट कार्ययोजनाका साथ अगाडि बढेको छ। डिजिटल प्रशासन र पारदर्शी सुशासन हाम्रो मूल प्राथमिकता हुन् । गोरखापत्रका सामग्रीहरूले सरकार र जनताबीचको सेतु बन्दै सुशासनको यो यात्रालाई थप बल पुर्याउनेछन् भन्ने मेरो विश्वास छ ।

'गोरखापत्र' लगायत संस्थानका अन्य प्रकाशनहरू - 'दि राइजिङ नेपाल', 'गोरखापत्र डिजिटल', 'मधुपर्क', 'युवामञ्च' र 'मुना' ले नेपाली वाक्य र पत्रकारितामा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् । साथै 'बहुभाषिक नेपाल' को मर्मलाई आत्मसात् गर्दै ४९ भाषामा सामग्री प्रकाशन गरी गोरखापत्रले समावेशी पत्रकारिताको जुन नमुना प्रस्तुत गरेको छ, त्यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको छ।

अन्त्यमा, गोरखापत्र प्रकाशनकै ऐतिहासिक दिनलाई आधार मानेर 'राष्ट्रिय पत्रकारिता दिवस' मनाउन पाउनु हामी सबैका लागि गौरवको विषय हो। यस सुखद घडीमा म गोरखापत्र संस्थान र यससँग सम्वद्ध सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

२०८३ वैशाख २४ गते बिहीबार

नेपाल संवत् ११४६, बछलागा पञ्चमी

डा. विक्रम तिमिल्सिना मन्त्री