इतिहासमा कतिपय संस्थाको स्थापना विशेष हुन्छ । गोरखापत्र त्यसैको उपज हो । राणाकालीन निरकुङ्श अन्धकारमा चेतनाको दियो भएर उदाएको गोरखापत्र १२५ वर्षको शताब्दी रजत यात्रा पूरा गरी आज १२६ औँ वर्षमा प्रवेश गरेको छ । विसं १९५८ वैशाख २४ गते साप्ताहिक अखबारका रूपमा सुरु भएको हो गोरखापत्रको यात्रा । समय र प्रविधिको वेगसँगै बहुविधामा विस्तार हुँदै नेपाली समाजको विश्वसनीय धरोहर बनिरहेको छ । पत्रकारिताको मूल्य, मान्यता, आदर्श र आचारसंहितालाई आत्मसात् गर्दै सत्य, तथ्य र विश्वसनीय मिडिया सामग्री सम्प्रेषण नै गोरखापत्रको आत्मा हो । राज्य र पाठकबाट आर्जन गर्न सकेको अटुट विश्वास हाम्रो मूल पुँजी हो । विश्व पत्रकारितामा यति निरन्तर बहुआयामिक यात्रा बिरलाकोटिमै देखा पर्छ । यसले गोरखापत्रलाई राष्ट्रले नै गौरव गर्न सक्ने जीवन्त सम्पदाका रूपमा स्थापित गरेको छ । नेपाली पत्रकारिताको जग र जननी भएकाले नै गोरखापत्र स्थापनाको यो पवित्र दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाएर थप विशेष बनाइएको छ । ‘सुशासनको आधार : प्रविधिमैत्री जिम्मेवार पत्रकार’ को नारासहित आज यो दिवस मनाइँदै छ । यो अवसरमा पत्रकारिता क्षेत्रमा लामो योगदान दिनुहुने वरिष्ठ पत्रकारलाई राष्ट्रिय रूपमै सम्मान गर्ने सुखद परम्परा पनि जोडिन पुगेको छ । गोरखापत्रसँग जोडिएको यो सुपरम्परा हाम्रा लागि गौरवपूर्ण छ ।
वरिष्ठ सञ्चारविद् डेनिस म्याकबेलले भन्नुभए झैँ राजनीतिक प्रणाली तथा पद्धतिबाट मिडिया निरपेक्ष रहन सक्दैन । इतिहासमा विश्वकै मिडियाले शासनसत्ताको घामपानी भोगेका छन्, गोरखापत्र पनि त्यसबाट पृथक् छैन । पाठकसँगको आफ्नो सामीप्य अटुट रहनु हाम्रो पुँजी हो । निरकुङ्श राणा शासन, प्रजातन्त्र, पञ्चायत र बहुदलीय व्यवस्था हुँदै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पत्रकारिताको मर्म र धर्ममा गोरखापत्र नेपाल र नेपालीको सेवामा समर्पित छ । जिम्मेवार र मर्यादित पत्रकारिताको अभ्यासलाई शिरोपर राख्ने हाम्रो प्रयास जारी छ । छापासँगै अनलाइनका माध्यमबाट गोरखापत्रले बहुविधामा विश्वकै प्रयोक्तासम्म आफ्नो पहुँच पु¥याएको छ । सङ्घीयतापछि तिनै तहका सरकारका योजना, नीति र कार्यक्रमलाई समाचारीय मूल्य तथा विचार विविधताका माध्यमबाट पाठकसम्म पु¥याउने हाम्रो अविराम यात्रामा सबैको साथ र सहयोग छ । सङ्घीय सरकारसँगै सातै प्रदेश र तमाम स्थानीय सरकारसम्मको सञ्चार पहुँचलाई गोरखापत्रले युगसापेक्ष फराकिलो बनाउँदै गएको छ । देशका ४९ भाषामा समाचार सामग्री विस्तार गरी समावेशी सञ्चारको विश्वमै अनुपम उदाहरण बन्न सकेकोप्रति गोरखापत्र गौरव गर्छ ।
शासकीय विकृति, भ्रष्टाचार र कुशासनप्रति भदौ विद्रोहको आमूल परिवर्तनको आकाङ्क्षा संस्थागत हुँदै छ । फागुन २१, २०८२ को प्रतिनिधि सभा निर्वाचनपछि बलियो जनादेशको सरकार स्थापना भई सुशासनका एक सय कार्ययोजना तीव्रत्तर कार्यान्वयनमा छन् । दसकौँ हुन नसकेका कामलाई आरम्भिक केही सातामै द्रुत रूपमा सम्पादन गर्दै जनविश्वास आर्जन भइरहेका विषय मिडियामा प्रबल बन्दै छन् । सेवा प्रवाहलाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलतातर्फ सरकारको अग्रसरता देशोन्नतिको मूल आधार बन्दै छ । सुशासन नै विकास र प्रगतिको बलियो आधार भएकाले गोरखापत्रको १२६ औँ वर्षप्रवेशको पहिलो अङ्कलाई ‘सुशासन यात्रा’ विशेषाङ्कमार्फत पाठकसमक्ष ल्याएका छौँ । नागरिकले अनुभूत गर्न सक्ने सुशासनमै लगानी विस्तार हुन सके आय, उत्पादन र रोजगारीको आयाम फराकिलो भई देशले आर्थिक विकासमा फड्को मार्न सक्छ ।
सूचना प्रविधिको विकास र विस्तारले अवसरसँगै मूलधारका पत्रकारिताका निम्ति अनेक चुनौती थपिएका छन् । मूलधारको विश्व पत्रकारिता नै ‘गलत सूचना’ (मिसइन्फर्मेसन) र ‘भ्रामक सूचना’ (डिसइन्फर्मेसन) बाट जोगिनुपर्ने चुनौतीपूर्ण घडीमा छ । यी चुनौतीसँग जुध्न सत्यापन र विश्वसनीय अभ्यासलाई खरो उतार्दै गोरखापत्रले छापा र डिजिटल आयामलाई अझै फराकिलो मात्रै बनाउँदै छैन, निरन्तरताप्रति पनि दृढसङ्कल्पित छ । राज्य संयन्त्रका बेथिति र कमजोरी पत्रकारिताको मर्म र धर्म अनुरूप सम्प्रेषण गर्ने दायित्वलाई खोजी पत्रकारितातर्फ ढाल्न सकियो भने शासकीय सुशासनमा अझै बल पुग्ने हाम्रो विश्वास छ । गोरखापत्रले शताब्दी रजत वर्ष पार गरेको यो सुखद अवसरमा नेपाल सरकार र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट प्राप्त सहयोग र सद्भावप्रति हामी आभारी छौँ । यो पावन अवसरमा गोरखापत्रप्रति सहयोग र सद्भाव दिनुहुने सम्पूर्ण राज्यसंस्था, निजी क्षेत्र तथा संस्था, पाठक तथा प्रयोक्ता, विज्ञापनदाता सबैप्रति गोरखापत्र परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ । यो अटुट स्नेह, सहयोग र सद्भाव निरन्तर पाइरहने विश्वास पनि व्यक्त गर्दछ ।