सहदेव बस्नेत
जाजरकोट, वैशाख २४ गते । जाजरकोटको छेडागाडमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ९७ जना बिरामीको मोतीबिन्दुको सफल शल्यक्रिया गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र सुर्खेतको प्राविधिक सहयोग तथा छेडागाड नगरपालिकाको आर्थिक सहयोगमा छेडागाड नगर अस्पतालमा दुईदिने शिविर सञ्चालन गरिएको हो ।
शिविरमा आँखा रोग विशेषज्ञ डा। सबीना सापकोटाको नेतृत्वमा बिरामीलाई सेवा प्रदान गरिएको थियो । दुर्गम गाउँमा आँखाको ज्योति गुमाएका बुबाआमाको सफल शल्यक्रिया गर्न पाउँदा आफू निकै खुसी भएको डा। सापकोटाले बताउनुभयो ।
आफ्नो गुमेको दृष्टि फर्काइदिएर संसार देख्न सक्ने बनाएको भन्दै बिरामीहरूले चिकित्सकप्रति धन्यवाद व्यक्त गरेका थिए । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्काले प्रतिकूल मौसमका बिच पनि बिरामीको सफल शल्यक्रिया गरी दृष्टि फर्काइदिएकोमा चिकित्सक टोलीको प्रशंसा गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी जाजरकोट आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदीपजङ्ग शाहले गाउँमै निःशुल्क सेवा पाउँदा बिरामी निकै खुसी भएको प्रतिक्रिया दिएको बताउनुभयो । उहाँका अनुसार शिविरमा करिब ७ सय स्थानीयले आँखा उपचार सेवा लिएका छन् । शिविरको आयोजना तथा व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र जाजरकोटले गरेको थियो ।