यदुप्रसाद भट्ट
मनाङ, असार २३ गते । नासो गाउँपालिका –८ ताचैकी ३१ वर्षीया गर्भवती महिला टोमकाशी गुरुङको सुत्केरी हुन नसकेको अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
नियमित रुपमा चेकजाँचका लागि व्यथा लागी धारापानी स्वास्थ्य चौकीमा जाँदा पेटमा जुम्ल्याहा बच्चा देखिएकाले जोखिम हुन सक्ने सम्भावनालाई मध्यनजर गरी हेलिकोप्टरमार्फत् उद्धार गरिएको नासो गाउँपालिकाका स्वास्थ्य संयोजक तुलसीराम गुरुङले बताउनुभयो ।
संयोजक गुरुङले वर्षाको मौसम र बाटोघाटोको अवस्थालाई ख्याल गरी बेलैमा उद्धार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो धारापानीको बर्थिङ सेन्टरमा एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बच्चा देखियो, बच्चाको तौल पनि कम हुने, जोखिम बढी हुने, अप्रेसन गर्नुपर्ने अवस्था देखियो, अनि प्रदेशमा खबर ग¥यौं । प्रदेशबाट संघमा खबर गयो र सिधै हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा पठायौं ।’
जिल्ला अस्पतालमा अप्रेसन गर्न समस्या नभए पनि दुर्गमक्षेत्र भएकाले बाटोको अवस्थालाई मध्यनजर गरी चिकित्सकसँग सल्लाह गरी पठाइएको उहाँको भनाइ छ । उहाँले बेलैमा सुझबुझका साथ काम गरेर आमा र बच्चा दुवैको ज्यान जोगाउन सफल भएको बताउनुभयो ।
थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा बिनाअप्रेसन निजको गर्भमा रहेका दुवै शिशुहरू (छोरीहरू) को जन्म भएको छ । दुवै जुम्ल्याहा छोरीहरूको शरीरको तौल न्यून रहेको कारण दुवै नवजात शिशुलाई एनआइसियुमा राखी उपचार जारी राखिएको र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।
यसैबिच नवजात शिशुका बुवा भूपेन्द्र गुरुङले अस्पतालले बच्चाहरुलाई त्रिवि टिचिङ अस्पताल रेफर गरेको बताउनुभयो । दुर्गममा सधैं सुत्केरी महिलाले जोखिम व्यहोर्नुपर्ने अवस्था कायमै रहेको छ । गत जेठ १२ गते बसेको मन्त्री परिषद् बैठकले गण्डकी प्रदेशका १३ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को बैठकले कर्मचारी संरचना र शैया संख्या समेत निर्धारण गरेको छ ।
१५ शैया र १८ कर्मचारी दरबन्दी रहेको प्रदेश अस्पताल मनाङको स्तरोन्नति गरी २५ शैया र कर्मचारी दरबन्दी ३९ बनाएको छ । अझै पनि सुत्केरी महिलाले सर्वसुलभ रुपमा सेवा पाउन सकेका छैनन् । मनाङ अस्पतालमा दक्ष डा. भए पनि मनाङीहरु यो सुविधाबाट वञ्चित भएको स्थानीयको गुनासो छ ।
मन्त्रीपरिषद् बैठकले अस्पतालको स्तरोन्नतिसँगै अस्पताल व्यवस्थापन समितिको आर्थिक कार्यविधि समेत स्वीकृत गरेको छ । स्वीकृत कार्यविधिअनुसार अस्पताल व्यवस्थापन समितिहरुले अस्पतालमा हुने आम्दानीलाई आफूखुसी खर्च गर्न नपाइने भएको छ । अस्पतालले वार्षिक कार्यक्रम तय गर्नुपर्ने र तय गरिएको वार्षिक कार्यक्रमलाई मन्त्रालयले स्वीकृत गरेपछि मात्र स्वीकृत कार्यक्रमभित्र रहेर अस्पताल व्यवस्थापन समितिले आम्दानीलाई खर्च गर्न पाउने व्यवस्था मिलाएको छ ।
आर्थिक कार्यविधिमा अस्पताल सुदृढीकरण कोषको समेत व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालय मातहत रहने उक्त कोषमा हरेक अस्पतालले आफ्नो आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नुपर्ने छ । उक्त रकम प्रदेश अस्पताल तथा स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्थाहरुको सुदृढीकरणमा मात्र खर्च गर्न सकिने व्यवस्था छ ।