गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २३ गते । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी अन्त्यका लागि सहकारी उत्तम विकल्प बन्न सक्ने भए पनि सोही अनुरूप ऋण परिचालन हुन नसक्दा समस्या भएको बताउनुभएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आइतबार राजधानीमा आयोजित २४ वार्षिकोत्सव समारोहमा देशमा करिब ३४ हजार सहकारी संस्थामध्ये झन्डै ७० प्रतिशत बचत तथा ऋण परिचालनसम्बन्धी रहेका भन्दै तिनको सही व्यवस्थापन भए गरिबी न्यूनीकरण टेवा पुग्ने बताउनुभयो । कृषि क्षेत्रको विकास र रूपान्तरणका लागि विशिष्टीकृत वित्तीय संस्था आवश्यक रहेको उहाँले बताउनुभयो ।
साना किसानलाई कृषि, पशुपालन र आयआर्जनमा संलग्न गराउन साना किसान विकास लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँले लघुवित्त सदस्यलाई उत्पादनमा जोड्ने गरी कार्यक्रम अगाडि बढाउन नसके लामो समयसम्म चल्न नसक्ने तर्क गर्नुभयो ।
सरकारले दिएको सहयोगलाई सदुपयोग गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो कामलाई प्रमाणित गरेकै कारण अहिले विदेशी निकायले समेत विश्वास गर्ने वातावरणको विकास भएको उहाँले बताउनुभयो । नेपालमा कृषि र पशुपालनमार्फत गर्न सकिने उद्यम र आयआर्जनका क्षेत्र धेरै रहेको स्मरण गर्दै डा. खतिवडाले एकलभन्दा पनि अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्नेमा जोड दिनुभयो ।
नेपालको राँगा, बङ्गुरलगायतका मासुजन्य उत्पादनको बजार तेस्रो मुलुकमा भइसकेको भन्दै उहाँले अब किसानलाई बजारको ग्यारेन्टी गर्दै निरोगी पशुवस्तु उत्पादनमा प्रोत्साहन गर्न सके नेपाली किसानको आयस्तरमा वृद्धि गर्न सकिने बताउनुभयो । संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थागत सुशासन बढाउन नसक्दा सहकारीमा केही समस्या आएको बताउनुभयो ।
उहाँले देशव्यापी अभियान चलाइरहेको भन्दै यस क्रममा संस्थाका सञ्चालक र कर्मचारीले आफ्नो जिम्मेवारीभन्दा फरक काम गरेका कारण संस्थामा समस्या सुरु भएको बताउनुभयो ।
साना किसान विकास लघुवित्तले ७७ जिल्लाका एक हजार ७१० साझेदार संस्थामार्फत २२ लाख परिवारका ८८ लाख सदस्यमा थोक कर्जा विस्तार, क्षमता विकास, प्रविधि हस्तान्तरण युवा उद्यमीका लागि काम गर्दै आएको उहाँले बताउनुभयो ।
नेपालमा २०३२/३३ सालदेखि साना किसान विकास आयोजना सुरु भएको हो । विसं २०५८ सालदेखि साना किसान विकास लघुवित्त वित्तीय संस्थाका रूपमा रहेको यो संस्था त्यसअघि साना किसान विकास बैङ्कका रूपमा दर्ता भएको थियो ।
संस्थाको संस्थापक सेयरधनीका रूपमा नेपाल सरकार, कृषि विकास बैङ्क, नेपाल बैङ्क, नबिल बैङ्क लिमिटेड र अन्य बैङ्क तथा वित्तीय संस्थाका साथै २३१ वटा साना किसान सहकारी संस्था रहेका छन् । संस्थाको चुक्ता पुँजी चार अर्ब ३१ करोड रुपियाँ रहेको छ । बैङ्क तथा वित्तीय संस्थाको ३८.९ प्रतिशत, साना किसान सहकारी संस्थाको २७.४५ प्रतिशत, अन्तर्राष्ट्रिय वित्तीय संस्थाको २.३६ प्रतिशत, नागरिकको ३०.०६ प्रतिशत र अन्यको १.२३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
संस्थामा साना किसान सहकारी ९०२, अन्य सहकारी संस्था र लघुवित्त संस्था ८०८ गरी कुल एक हजार ७१० साझेदार संस्था आबद्ध रहेको त्यस अवसरमा जानकारी दिइयो ।