• २३ असार २०८२, सोमबार

दस वटा निजी विद्यालय बन्द

blog

पत्रकार सम्मेलनमा विद्यालय सञ्चालक ।तस्बिर : विनय कर्ण

कल्याणपुर समाचारदाता 

कल्याणपुर (सप्तरी), असार २३ गते  । अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका १० वटा निजी विद्यालय बन्द गराइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीले अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्दै आएका विद्यालयलाई बन्द गराएको हो ।

उच्च अदालत जनकपुर राजविराज इजलासले अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्दै आएको विद्यालयलाई बन्द गराउन वैशाख १९ मा आदेश दिएको थियो ।

अदालतको आदेश कार्यान्वयन गर्न १० विद्यालयका अनुमति पाएको कक्षाबाहेकका थपिएका कक्षा सञ्चालनमा बन्देज लगाइएको जिल्ला शिक्षा विकास समन्वय एकाइ प्रमुख शशि यादवले जानकारी दिनुभयो ।

विद्यालय बन्द गराइएको प्रति निजी विद्यालयका सञ्चालकले भने असन्तुष्टि जनाएका छन् ।  विगत १४ वर्षदेखि माथिल्लो कक्षाको अनुमति माग गर्दा पनि स्वीकृति नदिई पठनपाठन नै बन्द गराएको प्रति हनुमाननगर कङ्कालिनी नगरपालिकाका १० वटा निजी विद्यालयका सञ्चालकले गुनासो  गरेका हुन् । शनिबार हनुमाननगर कङ्कालिनी नगरपालिकामा पत्रकार सम्मेलन गरी उहाँहरूले शिक्षा ऐनमा व्यवस्था भएबमोजिमको मापदण्ड र प्रव्रिmया पूरा गरेका विद्यालयले माथिल्लो कक्षाको पठनपाठन गर्ने गराउने अनुमति प्रदान गर्न माग गर्नुभयो । 

कङ्कालिनी नगरपालिका–६ स्थित वैष्णोदेवी बोर्डिङ स्कुलका सञ्चालक श्याम मण्डलले भन्नुभयो, “मैले विद्यालय स्थापना गरेको १४ वर्ष भयो, त्यो बेलादेखि नै माथिल्लो कक्षाको पठनपाठनको अनुमतिका लागि सबै प्रव्रिmया पूरा गरेर तत्कालीन जिल्ला शिक्षा कार्यालय, गाविस र अहिले आएर नगरपालिकामा निवेदन दिँदा पनि आश्वासनबाहेक केही पाउन 

सकिएको छैन ।” 

यस्तै गुनासो आनन्द बोर्डिङ स्कुलका सञ्चालक आनन्दकुमार यादवको पनि छ ।  उहाँले २०७० सालमा विद्यालय स्थापना गरी एक कक्षाको अनुमति लिएर माथिल्लो कक्षाको पठनपाठनका लागि आवश्यक मापदण्ड पूरा गरेर सम्बन्धित कार्यालयमा धाउँदा पनि कुनै सुनुवाइ नभएको पत्रकार सम्मेलनमा बताउनुभयो । यहाँको १० वटा निजी विद्यालय वर्षौंदेखि माथिल्लो कक्षाको अनुमतिको माग गर्दै शिक्षा शाखा धाइरहेको तर अनुमति पाउने आशामा रहेका बेला माथिल्लो कक्षाको पठनपाठन बन्द गराएपछि आफूहरू थप मारमा परेको विद्यालय सञ्चालकको गुनासो छ ।

हरेक वर्ष कक्षा अपग्रेडका लागि तोकिएको शुल्क र मापदण्ड पूरा भएको कागजातसहित आवेदन दिँदै आएकोमा कक्षा अपग्रेडको अनुमति नदिई विद्यालयको पठनपाठन नै बन्द गराउन थालेपछि आफूहरूको लगानी र हजारौँ विद्यार्थीको शैक्षिक भविष्यमा असर पुगेको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित आरपी मेमोरियल बोडिङ स्कुलका सञ्चालक जयप्रकाशनारायण रायले दुःखेसो पोख्नुभयो । 

हनुमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिनारायण साहले मापदण्ड पूरा गरेका विद्यालयको अनुगमनपछि माथिल्लो कक्षाको अनुमति प्रदान गरिएको दाबी गरेका छन् ।