• २३ असार २०८२, सोमबार

दक्ष खेलाडी उत्पादनमा ध्यान जानुपर्छ : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति भवन शीतल निवासमा एसिसी पुरुष यु—१६ इस्टजोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत । तस्बिर : रासस

गोरखापत्र अनलाइन

काठमाडौं, असार २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । सोमवार राष्ट्रपति भवन शीतल निवासमा एसिसी पुरुष यु—१६ इस्टजोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउनेखालको रहेको बताउनुभयो । परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमानी राख्नसक्ने जिकिर गर्नुभयो । देशभित्र बढीभन्दा बढी पूर्वाधार प्रतियाेगिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको छ । हामी सानोमा बाख्रा चराउन जाँदा किर खेल्थ्यौं । किरको विकास भएर अहिले आएर क्रिकेट भएको छ । हामीले पनि त्यसरी नै खेल्थ्यौं । त्यसकै आज विकसित रुप क्रिकेट हो । हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिन्छ भने अर्कोतिर हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्छन् । दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक छ ।’


एसिसी पुरुष यु—१६ इस्टजोन कप जितेको नेपाली क्रिकेट आइतवार साँझ स्वदेश फर्किएको थियो । गत शनिवार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।