विजयकुमार साह
ढल्केबर, असार २३ गते । नेपालकै दोस्रो ठूलो तथा ऐतिहासिक सखुवाको रुख धनुषाको धनुषाधामस्थित संरक्षित वन क्षेत्रमा पहिचान गरिएको छ । करिब दुई सय वर्ष पुरानो रुखको गोलाइ १५ फिट रहेको वन प्रशासनले जनाएको छ । यस रुखलाई ‘धनुष सखुवा’ नाम दिइएको छ ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख विनोद सिंहका अनुसार नेपालमा हालसम्म सखुवाको सबैभन्दा ठूलो रुख बाराको भीमनगरमा अवस्थित ‘भीम सखुवा’ छन् । त्यसको गोलाइ १८ फिट र उमेर करिब दुई सय पचास वर्षको अनुमान गरिएको छ । त्यसपछिको दोस्रो ठूलो र पुरानो सखुवाको रुख यही धनुषाधाममा फेला परेको हो । यति धेरै पुराना रुखहरू एकै स्थानमा पाइने सम्भवतः यही एकमात्र स्थान हो ।
गत शुक्रबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त सखुवाको नामकरण गर्दै ‘धनुष सखुवा’ घोषणा गर्नुभएको थियो । त्यस अवसरमा मुख्यमन्त्री सिंहले ऐतिहासिक, धार्मिक तथा जैविक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको धनुषाधाम वन क्षेत्रलाई खुला सङग्रहालयको रुपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “शताब्दी पुराना रुखहरूले भरिएको यो वन क्षेत्र जैविक विविधता, सांस्कृतिक महत्व र पर्यटकीय सम्भावनाको त्रिवेणी हो ।”
मुख्यमन्त्री सिंहका अनुसार संरक्षित वन क्षेत्रभित्र चिडियाखाना निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ । स्थानीय समुदायको सहभागिता बिना दीगो संरक्षण सम्भव नभएको उल्लेख गर्दै यो क्षेत्रलाई ‘हरित सम्पदा र हरित पर्यटनको केन्द्र’ बनाउनुपर्ने धारणा व्यक्त गनुृभयो ।
सवडिभिजन वन कार्यालय धनुषाधामका वन अधिकृत शङ्करनारायण झाले संरक्षित वन क्षेत्रभित्र हाल आठ हजार छ सय ८७ वटा विभिन्न प्रजातिका रुख भएको बताउनुभयो । तीमध्ये दुई सयभन्दा बढी शताब्दी पुराना सखुवाका रुख भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुनै एकै स्थानमा यति धेरै पुराना रुख पाइने देशकै एकमात्र नमुना वन क्षेत्र यही हो ।”
मिथिला वाइल्डलाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले धनुषाधामको वन क्षेत्र केवल पुराना रुखको थलो मात्र नभई जैविक विविधताले भरिएको सङ्ग्रहालय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ दुई सय ८६ भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन् । दुर्लभ स्पोटेड इगल, हर्नबिलजस्ता लोपोन्मुख चरा पनि छन् ।”
अध्यक्ष मण्डलका अनुसार यस वन क्षेत्रमा किङ कोब्रा, बँदेल, मृग, खरायोजस्ता दर्जनौँ स्तनधारी वन्यजन्तु पाइन्छन् । दुई ७० भन्दा बढी जडीबुटी तथा औषधीय वनस्पति रहेको उल्लेख गर्दै उहाँले यो क्षेत्र आयुर्वेद, जीवविज्ञान र वनस्पति अनुसन्धानका लागि उपयोगी केन्द्र बन्ने सम्भावना रहेको बताउनुभयो । धनुषाधाम संरक्षित वन क्षेत्र हाल तीन सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उहाँले जानकारी दिनुभयो ।
पर्यावरण अभियन्ता तथा वन अधिकृत सुरेश शर्माले यो क्षेत्र जैविक, सांस्कृतिक र शैक्षिक सम्पदाको सङ्गम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौंदेखि अनगन्ती ऋतुहरूको साक्षी बनेका यी सखुवाका रुखहरू आउँदो पुस्ताका लागि अमूल्य उपहार हुन् । यस्तो सङ्ग्रहालयको संरक्षण सबैको दायित्व हो । धार्मिक पर्यटनको केन्द्रका रूपमा परिचित यो क्षेत्रलाई प्रदेशकै नमूना वन पर्यटन केन्द्र बन्ने बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।
धनुषाधाम एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थान रामायणकालसँग जोडिएको छ । जनकपुरधामबाट करिब १८ किलोमिटर पूर्वमा रहेको यस स्थलमा भगवान श्रीरामले तोडेको धनुषको अवशेष रहेका जनविश्वास छ ।
धार्मिक दृष्टिले हिन्दू श्रद्धालुका लागि अत्यन्त पवित्र मानिन्छ । यहाँ हरेक वर्ष विशेष गरी माघे सङ्क्रान्ति, रामनवमी तथा विवाहपञ्चमीमा हजारौं भक्तजन दर्शन तथा पूजाका लागि आउने गरेका छन् । पर्यटकीय दृष्टिले धनुषाधाम प्राकृतिक सौन्दर्य, हरियाली वनक्षेत्र, जैविक विविधता र प्राचीन धार्मिक संरचनाले भरिपूर्ण शान्त र रमणीय स्थल हो ।