• २३ असार २०८२, सोमबार

पश्चिम एसियाको तनावबारे इरान, रूस र टर्कीएबिच उच्चस्तरीय वार्ता

blog

तेहरान, असार २३ गते । इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले ब्राजिलको रियो दि जानेरियोमा भएको १७ औँ बहुपक्षीय सम्मेलनको अवसरमा रूस र टर्कीएका परराष्ट्र मन्त्रीहरूसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले रुसी मन्त्री सर्गेइ लाभरोभसँगको भेटमा, इजरायल र अमेरिकाबाट इरानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले इरानको स्वतन्त्रता र सुरक्षाको रक्षा गर्ने दृढता व्यक्त गर्नुभयो । रूसी मन्त्री लाभरोभले पनि ती आक्रमणहरू गलत भएको बताउँदै, इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि भएको आक्रमणको विरोध गर्नुभयो । 

उहाँले क्षेत्रीय शान्ति कायम राख्न सबैले संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो । टर्कीएका परराष्ट्र मन्त्री हाकान फिदानसँग भएको छुट्टै भेटमा, दुबै नेताले गाजामा भइरहेको मानवीय संकटबारे गम्भीर चिन्ता व्यक्त गर्नुभयो । इजरायलले गरिरहेको कारबाही तत्काल रोक्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

हालै इजरायलले इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, जसमा कैयौँ मानिसको ज्यान गएको थियो। जवाफमा, इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गर्यो र इरानले अमेरिकी हवाई बेसमा जवाफ दिएको थियो । रासस/सिन्ह्वा