कोकिला ढकाल
इलाम, असार २३ गते । वैलानी जग्गामा अव्यवस्थित बसोबास गर्दैआएका इलामका दुईसय १३ भूमिहीन परिवारलाई लालपुर्जा उपलब्ध गराइएको छ । अहिलेसम्म माङ्सेबुङ गाउँपालिकामा ११०, रोङमा ७२ र चुलाचुलीमा ३१ भूमिहीन परिवारलाई जिल्लास्थित भूमि समस्या समाधान आयोगले जग्गाको लालपुर्जा उपलब्ध गराएको हो ।
अब माई नगरपालिकामा १५२ परिवारका लागि आयोगले १५ दिनको सुचना निकालेर काम गरिरहेको लालपुर्जा तयारीको काम गरिरहेको जिल्लास्थित आयोगका अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो । ‘माईमा लगभग काम सक्किएको छ, सम्बन्धित परिवारलाई राजस्व बुझाउन भनेका छौं । अब चाँडै माई नगरपालिकामा पुर्जा वितरणको काम गर्नेछौं ।’
अध्यक्ष अधिकारीले भन्नुभयो, ‘माई नगरपालिकाको सुखानी क्षेत्रमा भने ११३ परिवारको काम थालिएको छ, यहाँको पनि चाँडै पुर्जा वितरणको चरणमा पुग्नेछ ।’ चुलाचुलीमा अब ६३० परिवारको जग्गा अधुरो अपुरोमा प्रमाणित गरिएको छ । आयोगले अहिलेसम्ममा जिल्लाका पाँच पालिकामा दुई हजार सातसय ७९ कित्ताको नक्सा, स्थलगत अध्ययन तथा प्रमाणीकरण गरेर काम गरिरहेको जनाइएको छ ।
अहिलेसम्म जिल्लामा ११६ भूमिहीन दलित, ४९० भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासमा १३ हजार ४८६ निवेदन दर्ता भएको जनाइएको छ । यीमध्ये माई नगरपालिकामा २८ भूमिहीन दलित, ८८ भूमिहीन सुकुम्बासी, सात हजार ३६६ अव्यवस्थित बसोबासीको सङ्ख्या दर्ता भएको छ । यस्तै, माङ्सेबुङमा २४ भूमिहीन दलित, २३० भूमिहीन सुकुम्बासी, दुई हजार ३०८ अव्यस्थित बसोबासीको सङ्ख्या दर्ता भएको छ ।
रोङ गाउँपालिकामा ४ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्बासी, एक हजार ७९१ अव्यवस्थित बसोबासी छन् । सूर्योदय नगरपालिकामा ६० भूमिहीन दलित, १०७ भूमिहीन सुकुम्बासी, एक हजार ९६५ अव्यवस्थित बसोबासीको संख्या रहेको छ । ‘अझै पनि निवेदनको सूचना खोल्नपर्छ भन्ने परिवार निकै छन् ।’ आयोगका अध्यक्ष अधिकारीले भन्नुुभयो, ‘सबै गर्दा करिब २० हजार भूमिहीन परिवार इलाममा हुन सक्छन् ।’