भाइबहिनीहरू, तपाईंको विद्यालयमा ‘गुनासो पेटिका’ लेखिएको बाकस झुन्ड्याइएको देख्नुभएको छ ? त्यसको काम के हो र कसरी प्रयोग गरिन्छ भन्ने थाहा पाउनुभएको छ ? तपाईंमध्ये कतिपयले पक्कै पनि प्रयोग गर्दै आउनुभएको छ । पढाइ र सिकाइसँग जोडिएका कुनै पनि समस्या भए लेखेर गुनासो पेटिकामा खसाल्न सकिन्छ । त्यसमा खसालिएका गुनासोलाई विद्यालयले सम्बोधन गर्ने गर्छ । अर्थात् तपाईंका समस्यालाई समाधान गरिन्छ ।
दुई वटा उदाहरण हेरौँ है त ? पहिलो उदाहरण– दार्चुलाको महाकाली नगरपालिकास्थित सरस्वती आधारभूत विद्यालयकी छात्रा सुस्मिता धामीले आफूले खाजा खाने बेलामा साथीले थालमा पानी हालिदिने गरेको गुनासो लेखेर गुनासो पेटिकामा खसाल्नुभयो । विद्यालयको गुनासो व्यवस्थापन समितिले उहाँलाई खाजाका समयमा साथीबाट टाढा राख्ने निर्णय गर्यो । त्यसपछि खाजा खाने बेला कसैले पनि उहाँमाथि गलत व्यवहार गरेनन् ।
दोस्रो उदाहरण– कञ्चनपुरको लालझाडीमा रहेको स्वतन्त्र माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षाकोठाको सेतोपाटी बिग्रिएकोले पढाइमा समस्या भएको गुनासो लेखी बाकसमा खसाले । गुनासो व्यवस्थापन समितिले यो समस्यालाई लालझाडी गाउँपालिकामा पठाउने निर्णय गर्यो । सो विद्यालयका प्रधानाध्यापक जगन्नाथ भट्टका अनुसार गाउँपालिकाले नयाँ सेतोपाटी उपलब्ध गरायो ।
यी दुई उदाहरणले के थाहा हुन्छ भने विद्यार्थीले कक्षाकोठामा भोगेका कुनै पनि समस्यालाई लेखेर गुनासो पेटिकामा खसालियो भने ती समस्याको विद्यालयले पक्कै समाधान गर्ने छ । गुनासो पेटिकामा खसालिएका गुनासोलाई विद्यालयले अनावश्यक भएको भनी बेवास्ता गर्न मिल्दैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्र नामक निकायका अनुसार गुनासो सुनुवाइ कार्यविधि कार्यान्वयनमा छ । कार्यविधिमा कसले गुनासो गर्न पाउँछ, किन गुनासो लेखिन्छ, लेखिएको गुनासोलाई कहाँ खसाल्नु पर्छ, कसरी गुनासोलाई समाधान गर्न सकिन्छ भन्नेलगायतका कुरा प्रस्टसँग लेखिएको छ ।
यो लेख तयार गर्दा विभिन्न जिल्लाका विद्यार्थी र शिक्षकसँग सम्पर्क गरेका थियौँ । उनीहरूले गजब गजबका उदाहरण दिएका थिए । एक जना छात्राले अभिभावकले आफूलाई सामुदायिक विद्यालयमा र भाइलाई निजी विद्यालयमा पढाएर विभेद गरेको गुनासो लेखेकी थिइन् । एक जना छात्राले विद्यालयको शौचालयको चुकुल बिग्रिएकाले पिसाब फेर्न जाँदा साथमा साथीलाई पनि लिएर जानुपर्ने गुनासोलाई बाकसमा खसालेकी थिइन् । चिप्लिने डरले विद्यालयको धारामा पानी पिउन कोही पनि नजाने गरेको गुनासो पनि एक छात्रले पेटिकामा खसालेका थिए । एक छात्रालाई छात्रले नराम्रो नाम राखेर जिस्क्याउने गरेको गुनासो गरेकी थिइन् । विद्यालयको शौचालयमा पानीको व्यवस्था नहुँदा दिसा लागेमा विद्यार्थी घर आउने गरेको र त्यसपछि पुनः विद्यालय जान नपाइने हुँदा पढाइ छुट्ने गरेको गुनासो बाकसमा खसालिएको थियो ।
विद्यालयमा हुने कुनै पनि प्रकारको हिंसा, दुव्र्यवहार, विभेद, दण्डसजाय, छुवाछुत, हेपाइ, जिस्क्याउने समस्या, सरसफाइ नभएकाबारेमा गुनासो पर्ने गरेको छ । असुरक्षित कक्षाकोठा, जीर्ण विद्यालय भवन, सफा पानीको अभावबारेमा पनि गुनासो खसालिएको छ । महिनावारी हुँदाको विभेद, सेनेटरी प्याड प्रयोग गर्न नमिल्ने कुरा, विद्यालयले उपलब्ध गराउने खाजा स्वादिलो नभएका कुरा, शिक्षकले राम्ररी नपढाएका कुरा, गृहकार्य परीक्षण नहुने कुरा पनि विद्यार्थीका गुनासाभित्र परेका छन् । समयमा शिक्षक कक्षाकोठाभित्र नपस्ने र पूरै समयसम्म नटिक्ने कुरा, कक्षाकोठाभित्र शिक्षकले मोबाइल फोन चलाइरहने कुरा पनि गुनासो गरिएको पाइएको छ । जान्ने विद्यार्थीलाई सिकाइरहने तर कमजोर विद्यार्थीलाई बेवास्ता गर्ने कुरा, खेल मैदान नभएका कुरा, विद्यालयमा बाहिरी व्यक्ति अनावश्यक रूपमा प्रवेश गर्ने कुरा आदिका बारेमा विद्यार्थीले गुनासो गर्ने गरेका छन् । शिक्षक वा प्रधानाध्यापकलाई यस्ता समस्याका बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले उहाँहरूलाई थाहा दिन वा सचेत गराउन गुनासो लेखेर विद्यालयमा झुन्ड्याइएको पेटिकामा खसाल्नु पर्छ ।
हरेक विद्यालयमा गुनासो सुनुवाइ समिति गठन गरिएको हुन्छ । तपाईंको विद्यालयमा यस्तो समिति गठन भएको छैन भने प्रधानाध्यापकलाई गठन गर्न र गुनासो पेटिका राख्नका लागि अनुरोध गर्नुहोला । उहाँहरूले वास्ता गर्नुभएन भने स्थानीय तहमा आफैँ गएर वा अभिभावकलाई पठाएर त्यसबारेमा जानकारी दिन लगाउनुहोला ।
प्रत्येक विद्यालयले विद्यार्थीबाट गुनासो सङ्कलन गर्न विद्यालय हातामा गुनासो पेटिका राख्नुपर्ने हुन्छ । गुनासो पेटिका सकभर प्रधानाध्यापक वा शिक्षक बस्ने कोठामा राख्नु हुँदैन । विद्यार्थीको पहुँच हुने गरी राख्नु पर्छ ।
शौचालयमा राख्दा पनि राम्रो किनकि पेटिकामा गुनासो खसाल्न विद्यार्थीलाई सजिलो र सुरक्षित हुन्छ । त्यसबाहेक शिक्षकले हत्तपत्त नदेख्ने ठाउँमा पनि राख्न सकिन्छ । कतिपय विद्यार्थीलाई गुनासो लेखेर खसाल्न मन हुन्छ तर सबैले देख्दा अप्ठेरो महसुस हुन सक्छ । विद्यार्थीले निर्धक्कसँग गुनासो खसाल्न सुरक्षित अनुभव गर्ने ठाउँमा गुनासो पेटिका झुन्ड्याउनु पर्छ । गुनासो पेटिका कहाँ राख्दा उपयुक्त हुन्छ भनेर विद्यार्थीको भेला गराएर उनीहरूको सुझावका आधारमा राख्न पनि सकिन्छ । त्यो पेटिकाको बाहिर ‘गुनासो पेटिका’ लेखी टाँस्नु पर्छ ।
गुनासो सुनुवाइ समितिमा सात जना रहने नियम छ । यस्तो समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा उनले तोकेका व्यक्ति संयोजक हुन्छन् । विद्यालयका प्रधानाध्यापक सहसंयोजक हुने नियम छ । शिक्षक–अभिभावक सङ्घका अध्यक्ष वा उनले तोकेको एक जना प्रतिनिधि, बालक्लबका एक छात्रा र एक छात्र, सम्बन्धित वडाका महिला सदस्य तथा गुनासो सुन्ने शिक्षक रहने व्यवस्था छ । समितिमा भएका कुनै पनि पदाधिकारीका विरुद्धमा गुनासो परेमा ती व्यक्तिलाई बैठकमा सहभागी नगराई निर्णय गर्नु पर्छ ।
हरेक शुक्रबार गुनासो पेटिका खोल्नु पर्छ । गुनासो नै नपर्ने भएमा विद्यार्थीलाई गुनासो लेखेर खसाल्न समितिले प्रेरित गर्नु पर्छ । प्राप्त गुनासोलाई छिटोभन्दा छिटो सम्बोधन गर्नु पर्छ । विद्यालयले ती समस्या समाधान गर्न नसक्ने भएमा सम्बन्धित निकायलाई जानकारी दिनु पर्छ । गुनासोको प्रकृति हेरेर प्रहरी वा स्थानीय तह वा शिक्षासम्बन्धी निकाय वा सङ्घ संस्था वा व्यक्तिलाई जानकारी दिनुपर्ने हुन्छ ।
विद्यार्थीले नाम, कक्षा उल्लेख नगरेर पनि सादा कागजमा आफ्ना गुनासा लेखेर पेटिकामा खसाल्न सक्छन् । परेका गुनासालाई गोप्य रूपमा राख्नु पर्छ । गोपनीयता कायम गर्न नसक्ने समितिका पदाधिकारीलाई तत्कालै हटाउनु पर्छ ।
विद्यार्थीले गुनासो राखेकै कारण कुनै पनि दण्ड सजाय वा विभेद गर्न वा विद्यालयबाट निष्कासन गर्न वा परीक्षामा अनुत्तीर्ण गराउन पाइँदैन । विद्यार्थीले अमर्यादित, गलत तथा अरूलाई दुःख दिने मनसायले गुनासो राख्न पनि पाइँदैन । गुनासोको सुनुवाइ नभएसम्म पटक पटक उही गुनासो राख्न पाइन्छ ।
‘गुनासो पर्ने गरेको छ’
हाम्रो विद्यालयमा गुनासोहरू आउने गरेका छन् । कम्प्युटर अभाव भएको, सेनिटरी प्याड सकिएको, शिक्षकको व्यवहार राम्रो नभएको आदि गुनासो लेखेर साथीहरूले गुनासो पेटिकामा खसाल्नुहुन्छ । कतिपय शिक्षकले आफ्नोबारेमा गुनासो आउला कि भन्ठानेर अप्ठेरो ठाउँमा गुनासो पेटिका राख्ने गरेको सुनिन्छ तर हामीकहाँ त्यस्तो छैन । शिक्षकको कोठाभन्दा बाहिर राखिएको छ । सबै विद्यार्थीले पुग्ने ठाउँमा बाकस राखिएको छ । गुनासो सम्बोधन भइसकेपछि प्रधानाध्यापकले प्रार्थना सभामा यस्तो गुनासो आएको थियो र यसरी समस्या समाधान भयो भनेर सबैलाई जानकारी दिने गर्नुभएको छ ।
‘नुन कम भएको गुनासो आयो’
पहिले सुझाव पेटिका भनिन्थ्यो । अहिले गुनासो पेटिका भन्ने गरिएको छ । हाम्रा विद्यार्थीले खुलेरै गुनासा गर्ने गरेका छन् । अप्ठेरो मान्ने गरेका छैनन् । कतिपय कुरा हामीलाई थाहा हुँदैन । विद्यार्थीले गुनासो गरेपछि मात्र थाहा हुन्छ । त्यस्ता कुरा तुरुन्त सच्याउने गरेका छौँ । फलानोले झगडा गर्छ, गाली गर्छ जस्ता गुनासा पनि पर्ने गरेका छन् । पोसाक परिवर्तन गर्नु प¥यो, घुमाउन लैजानुप¥यो, शौचालय फोहोर भयो, खेल्नका लागि बल भएन भन्ने गुनासा पनि परेका थिए । त्यसपछि हामीले विद्यार्थीलाई घुमाउन पनि लिएर गयौँ ।
विद्यालयले दिने खाजामा नुन कम भयो, नुन बढी भयो भन्ने जस्ता पनि गुनासा पर्ने गरेका छन् । विद्यालयले वार्षिकोत्सव मनाएन भनेर पनि गुनासो परेको थियो । त्यसपछि हामीले वार्षिकोत्सव मनायौँ । कतिपय गुनासोलाई पेटिकामा खसाल्ने गरिएको छ भने कतिपय गुनासो प्रधानाध्यापक वा शिक्षकलाई भन्ने गरिएको छ । गुनासो प्राप्त हुनासाथ हामीले समस्या समाधान गरिदिन्छौँ ।
‘गुनासो गर्नेलाई कारबाही गर्न पाइँदैन’
गुनासो सुनुवाइ कार्यविधि २०७४ सालमा कार्यान्वयनमा आयो । त्यसपछि हरेक विद्यालयले अनिवार्य रूपमा गुनासो पेटिका राख्नुपर्ने नियम भएको हो । हामीले अनुगमनका क्रममा कतिपय विद्यालयले गुनासो पेटिका फालेको देखेका छौँ । प्रधानाध्यापकलाई भनेर सुरक्षित ठाउँमा राख्न लगाएका छौँ । कतिपय विद्यार्थीले गुनासो पेटिकामा बालुवा माटो हालेर बिराम गर्ने गरेको पनि पाइयो । विद्यार्थीको त्यस्तो अनुशासन राम्रो होइन । गुनासो पेटिकालाई विद्यार्थीले उपयोग र सदुपयोग गर्नु पर्छ । आफ्ना समस्यालाई शिक्षकसँग भन्न हिचकिचाहट हुन सक्छ । त्यस्तो अवस्थामा लेखेर गुनासो पेटिकामा खसाल्नु पर्छ । गुनासो वा उजुरी खसालेका आधारमा विद्यार्थीलाई कारबाही गर्न वा भेदभाव गर्न पाइँदैन । गुनासो गोप्य राख्नु पर्छ । विद्यार्थीले गुनासो गरेका कारण देशभरिका थुप्रै विद्यालयमा सुधार भएका छन् । यो अभियानमा हामी सबै सरिक हुनु पर्छ ।
‘पठनपाठनमा सुधार आएको छ’
गुनासो पेटिका राख्ने अभियान सुदूरपश्चिममा पनि जारी छ । कति वटा विद्यालयमा राखिएको छ भन्न सकिँदैन तर माध्यमिक विद्यालय अधिकांशमै गुनासो पेटिका राखिएको छ । राखेका विद्यालयमा गुनासो पेटिकाको उचित उपयोग गरिएको पाइन्छ । सक्रिय विद्यार्थी भएका विद्यालयमा नियमित रूपमा गुनासो पर्ने गरेको पनि छ । कैलाली र कञ्चनपुरका विद्यालयमा यसको अभ्यास बढी छ । पहाडी जिल्लामा अझै प्रभावकारी बन्न सकेको छैन । कतिपय विद्यालयमा विद्यार्थीले नै हाम्रा गुनासोको किन सम्बोधन भएन भनेर पनि शिक्षक वा प्रधानाध्यापकलाई सोध्ने गरेको पाइएको छ । हामीले मन्त्रालयबाट गुनासो पेटिकाका बारेमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौँ । विद्यालयमा पुगेर त्यसको अनुगमन गर्ने र विद्यार्थीलाई आफ्ना समस्यालाई गुनासाका रूपमा बाकसमा खसाल्न प्रेरित गर्ने गरेका छौँ । यसले पठनपाठन र सिकाइमा धेरै सुधार भएको छ ।
‘कक्षाकोठामा पुगेर गुनासो सुन्छु’
विद्यालयको अनुगमनका क्रममा गुनासो पेटिका राखिएको छ कि छैन भनेर हेर्ने गरेका छौँ । कतिपय विद्यालयमा नभएको पनि पाएका छौँ । उनीहरूलाई तुरुन्त राख्न लगाएका छौँ । म आफैँ कक्षाकोठाभित्र गएर विद्यार्थीलाई गुनासो पेटिकाको महत्वका बारेमा भन्ने गरेकी छु । यसबारेमा उनीहरूलाई जनचेतना अभिवृद्धि गर्ने गरेकी छु । गुनासो पेटिकामा गुनासो पर्ने तर विद्यार्थीको समस्या समाधान नगर्ने विद्यालय पनि फेला परे । त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएँ । शिक्षक कक्षाकोठामा नगएका, प्रधानाध्यापक नै विद्यालयमा नियमित रूपमा उपस्थित नभएको जस्ता गुनासा विद्यार्थीका रहन्छन् । गुनासो पेटिकामा गुनासो हाल्दा कुनै समस्या हुँदैन भनेर विद्यार्थीलाई कक्षाकोठामा पुगेर भन्ने गरेकी छु । विद्यार्थीलाई भयरहित वातावरणमा गुनासो हाल्न सक्ने बनाउनुपर्ने छ । यसका लागि हरेक विद्यालयमा जनचेतना अभिवृद्धि गर्नु अति नै आवश्यक देखिएको छ ।
प्रस्तुति : प्रकृति