काठमाडौं, कात्तिक २० गते । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनु भएको छ। द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयो।
आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको सञ्जाल हो। सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्याङ्कन गर्न काठमाडौँ आइपुगेको छ।
लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरु विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताउनु भयो।
‘‘तपाईंको लामो समयदेखिको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनःसंरचना सम्भव हुने देखेका छौँ र त्यसले लोकतान्त्रिक संस्थाहरुलाई जोगाउनेछ’’ प्रतिनिधिमण्डलको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताउनु भयो ।
प्रधानमन्त्री कार्कीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले चासो देखाएपछि निर्वाचन सुरु भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिनुभयो।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘‘हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो। यसैमा केन्द्रित छौँ। स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ। यहाँहरुको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ।’’
आन्फ्रेल प्रतिनिधिहरुसँगै नेपालको निर्वाचन पर्यवेक्षकहरुको सञ्जाल नियोकका पदाधिकारी तथा सदस्य पनि हुनुहुन्थ्यो। उहाँहरुले यसपालि पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा व्यापक उत्साह देखिएकाले मतदाता शिक्षामा विशेष जोड दिन सुझाव पनि दिनुभयो।
सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन तयारी तीव्र पारेको छ ।