• २१ कात्तिक २०८२, शुक्रबार

मतदाता नामावली सङ्कलनमा देखिएन उत्साह

blog

जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वमा नयाँ मतदाता नामावली सङ्कलन गर्दै । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर
रुकुमपूर्व, कात्तिक २१ गते ।
जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वमा मतदाता नामावलीमा नाम दर्ता गराउनेमा उत्साह कम देखिएको छ । विगतका निर्वाचन हुन गइराखेको समयभन्दा यस पटकको निर्वाचन हुन गइरहेकोमा मतदाता नामावली सङ्कलन गर्नेमा उत्साह कम देखिएको हो ।

निर्वाचन आयोगले आगामी फागुनमा हुन गइरहेको निर्वाचनको तयारीका लागि देशभर मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गरेको छ । आयोगले मतदाता नामावलीमा नयाँ नाम दर्ता, त्रुटि सच्याउन र मृतक वा दोहोरो नाम हटाउनका लागि गएको असोज १० गतेदेखि आउँदो कात्तिक ३० गतेसम्म समय तोकेको छ ।

रुकुमपूर्वमा मतदाता नामावली सङ्कलन गर्नेहरूको उत्साह न्यून रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी बिरप्रताप पुनले जानकारी दिनुभयो । असोज १० देखि कात्तिक १९ गतेसम्म पुरुष ७१ र महिला २६ गरी ९७ जनाले मात्र नामावलीमा नाम दर्ता गरेको पुनले बताउनुभयो । दैनिक पाँच जनादेखि १७ जनासम्म मात्र नामावलीमा नाम दर्ता गर्न आउने गरेको उहाँको भनाइ छ । सूचना अधिकारी पुनले भन्नुभयो, “यो सङ्ख्यामा नामावली नाम दर्ता गर्न आउनु कम सङ्ख्या हो । यसले नामावलीमा नाम दर्ता गर्नेको उत्साह नभएको अनुमान गर्न सकिन्छ ।”

दैनिक १५ देखि ३५ जनासम्मले जिल्ला प्रशासनमा नयाँ नागरिकता बनाएर जाने गरेको सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले बताउनुभयो । खड्काले भन्नुभयो, “नयाँ नागरिकता पाएका सबैले मतदाता नामावली बनाउनुपर्ने हो । तर प्रशासनदेखि निर्वाचन कार्यालय टाढा रहेको एकतिर र अर्काे तिर नामावली कहाँ बनाउनु पर्छ भन्ने थाहा नपाएर पनि नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या कम भइरहेको हुन सक्छ ।”

नयाँ नागरिकता पाएका सबैले नामावली दर्ता गर्नेबाट वञ्चित नहुन् भनी निर्वाचन कार्यालयलाई प्रशासनमै नामावली दर्ताका लागि डेस्क राख्ने अनुरोध गर्दा समेत निर्वाचन कार्यालयले डेस्क राख्न नसकेको सहायक प्रजिअ खड्काले बताउनुभयो ।

कर्मचारी अभावसँगै निर्वाचन आयोगले डेस्क राख्न अनुमति नदिएको कारणले प्रशासनमा डेस्क राख्न नसकिएको निर्वाचन कार्यालयका सूचना अधिकारी पुनले बताउनुभयो ।  

जिल्लामा कात्तिक १६ गते सम्म १८ वर्ष उमेर पुगेका मतदाता पुथाउत्तरगङ्गा गाउँपालिकामा ११ हजार दुई सय ८२, भूमे गाउँपालिकामा ११ हजार चार सय ९२ र सिस्ने गाउँपालिकामा ११ हजार दुई सय २८ गरी जम्मा जिल्लामा ३४ हजार दुई जना छन् ।