मुगु समाचारदाता
मुगु, वैशाख ३० गते । मुगुको माथिल्लो क्षेत्र मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न वन तथा पाटन क्षेत्रहरूमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्न आगामी जेठ १३ गतेदेखि प्रवेश खुला गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार पालिकाको कार्यविधि अनुसार आगामी जेठ १३ गतेदेखि पाटन क्षेत्रमा यार्चा सङ्कलन सुरु गर्ने निर्णय भएको छ ।
जिल्लाभन्दा बाहिरका नागरिकलाई यार्चागुम्बा सङ्कलन गर्न र वन प्रवेश गरेबापत प्रतिव्यक्ति दुई हजार पाँच सय र जिल्लाभित्रका नागरिकलाई प्रतिव्यक्ति दुई हजार रुपियाँ प्रवेश शुल्क निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले प्रवेश शुल्क नतिरेर लुकीचोरी पाटनमा पुगेर यार्चा सङ्कलन गर्नेलाई यार्चागुम्बा सङ्कलन कार्यविधि अनुसार पालिकाले कारबाही गर्ने पनि स्पष्ट पार्नुभयो ।
मुगुमकार्मारोङ गाउँपालिकाका अधिकृत सुवास रावलले यार्चागुम्बा कार्यविधि अनुसार यार्चा सङ्कलन गर्न आउने सर्वसाधारणले मापदण्डभित्र रहेर वन तथा वातावरणका साथै जैविक विविधतामा असर नपर्ने गरी वनक्षेत्रमा व्यवस्थित रहेर बसोबास गर्नलाई मुगमकार्मारोङ गाउँपालिका–२ को वडा कार्यालय र पालिकाका युवा क्लबले सहजीकरण गर्दै आएका छन् ।
उहाँले पालिकाका विभिन्न पाटन क्षेत्रमा यार्चा सङ्कलन गर्न आउने सर्वसाधारणलाई स्वास्थ्यकर्मीमार्फत लेक लागेमा कसरी उपचार गर्ने भन्ने विषयमा पनि जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको बताउनुभयो । मुगुमकार्मारोङ गाउँपालिका–३ का फोन्जुक तामाङका अनुसार चैत महिनादेखि पाटनमा यार्चा उम्रिन सुरु हुन्छ र जेठको दोस्रो सातादेखि स्थानीयले टिप्ने गर्दछन् । गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिँदै जाने र यार्चाको टुसा जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने गर्दछ । मुगुका पाटन क्षेत्रहरूमा उम्रिने यार्चा सङ्कलन गर्न जिल्लाबाहिर र जिल्लाभित्रबाट सयौँ जना बर्सेनि वैशाखदेखि असारसम्म पाटन पुग्ने गरेको लामाले बताउनुभयो ।
छायाँनाथ रारा नगरपालिका–१० का स्थानीय जीवन सेजुवालका अनुसार छोटो समयमा यार्चा सङ्कलनबाट राम्रो आम्दानी हुने भएकाले एक महिनाको बिदा लिएर यार्चा सङ्कलन गर्न आएको बताउनुभयो । यार्चा सङ्कलनका लागि कार्मारोङ गाउँपालिकामा जिल्लाका अन्य पालिकाका स्थानीयका साथै छिमेकी जिल्ला जुम्ला, हुम्ला, दैलेखबाट पाटन उक्लिने गर्दछन् । स्थानीयवासी पाटनमा डेढ महिनासम्म यार्चा टिपेर फर्किने गरेका छन् । गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिक मात्रमा यार्चा पाइएको र यो वर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्चा कम पाइने स्थानीयवासी बताउँछन् ।
मुगुको पाटन क्षेत्रमा पाइने यार्चा प्रतिगोटा पाँच सय रुपियाँदेखि एक हजार रुपियाँमा बिक्री हुने गरेको स्थानीय व्यापारी छिरिङ नुर्भु लामाले बताउनुभयो । यार्चा सङ्कलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भन्ने हिसाबले सुरक्षाकर्मी खटाउँदै आएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मुगम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठुलो कोइकी, रिमार, टाके, हाङदाङ खोला, छापाखोलालगायत दुई दर्जन पाटन क्षेत्रमा यार्चागुम्बा टिप्नका लागि सर्वसाधारण पाटनमा जाने गर्दछन् ।