गार्डेन राई
सोलुखुम्बु, कात्तिक २० गते। नेकपा (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रको स्वाधिनता र हितमा बोल्ने पार्टी नेकपा (एमाले) मात्र रहेको बताउनुभएको छ । आज एमाले जिल्ला कमिटी सोलुखुम्बुले आयोजना गरेको नवौँ पूर्ण बैठक तथा वृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले मुलुकको सङ्कट हटाउन सबैको जिम्मेवारी रहेको बताउँदै आचरण र व्यवहारमा सुधार गर्न सुझाव दिनुभयो । गुरुङले लोकतन्त्र जोगाउने पार्टी एमाले रहेको र राष्ट्रिय हितको लागि अडान लिन सक्ने नेता केपी शर्मा ओली मात्र मुलुकमा रहेको दाबी गर्नुभयो ।
नेता गुरुङले संसद् पुनर्स्थापनाका लागि सडकबाट दबाब दिनुपर्ने बताउँदै वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने टिप्पणी गर्नुभयो । मुलुकको भविष्य बनाउने जिम्मेवारी एमालेमाथि रहेकाले सबै पार्टी नेता, कार्यकर्ता एकतावद्ध भएर अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । जनताले एमालेको भूमिका बुझेकाले जनताको साथ एमालेलाई हुने उहाँले विश्वास गर्नुभयो । कार्यक्रममा जिल्ला नेताहरुले पनि धारणा राख्नुभएको थियो ।