• २१ कात्तिक २०८२, शुक्रबार

शासकीय अन्तर्वस्तु

blog

जेनजी आन्दोलनको यतिबेर सर्वपक्षीय समीक्षा भइरहेको छ । यसले राजनीतिक, शासकीय, आर्थिक तथा भावनात्मक पक्षमा ल्याएका सुनामीको छाल अझै कहाँसम्म पुग्छ र कति निर्माण वा क्षति गर्छ भन्ने विषय अझै अध्ययनको गर्तमा नै छ । शासकीय पात्र र विश्लेषकले आआफ्नै ढङ्गबाट विश्लेषण गरिरहेका छन् । कसैले यसको सहज समाधान देखाइरहेका छन् भने कसैले यसको परकम्प वा पुनरावृत्तिको ढ्याङ्ग्रो पनि ठोकिरहेका छन् । यसबेला शासकीय पात्रहरूले निकै संयमित भएर यसको कारण उत्खनन गरी निदानका उत्तरआधुनिक उपायहरूको खोजी गर्न आवश्यक देखिन्छ । 

यो आन्दोलनको प्रकृति हेर्दा अत्यन्त शीघ्र सम्भव र योजनाबद्ध जस्तो प्रतीत हुन्छ । आन्दोलनको यो प्रकृतिले भविष्यमा यस्ता आन्दोलन हुन सक्ने सम्भावनालाई सहजीकरण गरिदिएको छ । पछिल्लो पुस्ताको आन्दोलन अघिल्लो पुस्ताहरूको जस्तो एनालग देखिएन । उनीहरूको सञ्चार प्रणाली तिख्खर र तत्काललाई कामयाब देखियो । यसका केही कारण हुन सक्छन् तिनीहरूको विश्लेषण गरौँ ।

डिजिटल डिएनए : यो पुस्ता सधैँ स्क्रिनसँग खेलिरहन्छ । स्क्रिन पनि उत्तिकै तार्किक छ । यो पुस्ताको सोच नै आलोचनात्मक र उत्पादनमूलक/नतिजामुखी छ । इन्टरनेटको विश्लेषण क्षमतासँग समानान्तरीय मार्गमा यिनको बुझाइ क्षमता बढ्दो देखिन्छ । समाजका परम्परागत ज्ञानभन्दा कृत्रिम बौद्धिकताबाट प्राप्त ज्ञानमा विश्वास गर्छ ।

समूहकार्यउन्मुख प्रवृत्ति : यो पुस्ता जित जितको सोचमा खेल खेलिरहन्छ । सहयोगी भावना र इन्फ्लुएन्सिङ (प्रभावी) क्षमता राख्ने यो पुस्ता अरूको पीडामा भन्दा खुसीमा रमाउन खोज्छ । झिना मसिना व्यावहारिक समस्याभन्दा माथि उठेर जान सक्ने सोच चिन्तन र व्यवस्थापकीय क्षमता राख्छ ।

प्रभावकारी सञ्चार क्षमता : विभिन्न विश्लेषणबाट पुस्ताबिचको मूल विशेषता विश्लेषण भएका छन् । यो पुस्ताको बुझाइसँगै दोहोरो सञ्चार क्षमता पनि राम्रो छ । 

अनौपचारिक र नतिजाउन्मुख : यो पुस्ता विकेन्द्रीकृत, पारदर्शी र अनौपचारिक छ । प्रक्रियामा भन्दा नतिजामा केन्द्रित रहने देखिन्छ । प्रक्रिया कम गर्ने कार्यले अनौपचारिकता प्रवर्धन गर्छ । 

अध्ययनका अनुसार अघिल्ला पुस्ता कठोर परिश्रमी र स्वजीवी देखिन्छन् भने पछिल्ला पुस्ता व्यवस्थापकीय क्षमता राख्ने, अरूको मन जितेर काम लगाउन सक्ने छन् । मूल्यगत पक्ष, ज्ञानगत पक्ष, प्रविधिगत पक्षमा पुस्ताबिच निकै फरक देखिन्छ । यस कारण यो पुस्ताको आन्दोलन शीघ्र नतिजामुखी भयो । आउँदो पुस्ता सधैँ अघिल्लो भन्दा अग्रगामी देखिने हुँदा शासकीय पात्र र प्रणालीलाई प्रभावकारी बनाउन नसकिए सधैँ जोखिम रहिरहन्छ ।

युवापुस्ताको यस्तो आन्दोलन नेपालमा मात्र पहिलो पटक भएको होइन, श्रीलङ्कामा २०२२, बङ्गलादेशमा २०१४ र माडागास्कारमा २०२५ मा भएका छन् । शासकीय पक्षबाट हेर्दा यस्ता आन्दोलन खराब शासनप्रतिको नवयुवाको आक्रोशको उपज हो । राज्यले प्रदान गर्ने सार्वजनिक वस्तु प्राप्तिको गुणस्तर र सहजतालाई विश्वसँग तुलना गर्ने क्षमता नै युवापुस्तालाई आक्रोशित बनाउने आधार हो ।

आन्दोलन वा युद्धको विश्लेषण गर्नुअघि यसका कारणको विश्लेषण गर्न जरुरी हुन्छ । युद्धको नकारात्मक प्रभाव त्यसको कारणको क्षितिजीय परिधिबाट मूल्याङ्कन गरिनु पर्छ । अब यो डिजिटल पुस्ताको आन्दोलनको खास कारण के थियो वा यो कसरी घटित भयो भन्ने पक्ष हेरौँ । निम्न कारण प्रमुख रूपमा विश्लेषण गर्न जरुरी छ ।

शासकीय कमजोरी : सुशासनको अभावमा जस्तोसुकै समस्या आउँछन् । सार्वजनिक सेवा प्राप्तिमा जनताले पोखेको असन्तुष्टिको परिमाण बढ्दै जानु, संस्था नैतिक र व्यावसायिक गतिविधिबाट स्खलित हुँदै जानु, जनताको गुनासो र न्यायिक सुनुवाइ प्रक्रिया खर्चिलो र पहुँचबाट टाढा हुँदै जानुले जनतामा आमअसन्तुष्टि बढाउँदै जान्छ । 

बढ्दो भ्रष्ट संस्कारका कारण संस्थाहरूको व्यावसायिकता पनि स्खलित भई आफ्नो उद्देश्यभन्दा टाढा हुँदै गएका छन् । ‘डारोन एसेमोग्लु’ र ‘जेम्स ए रोविन्सनले ह्वाइ नेसन्स फेल’ पुस्तकमा भने जस्तो संस्थाहरू कमजोर हुँदै गएपछि राज्य असफल हुने अवस्थामा पुग्छ । त्यही आन्दोलनमा हे¥यौँ भने हामी देख्न सक्छौँ, सिंहदरबार र सर्वोच्च अदालतसहित सार्वजनिक सम्पत्ति जलिरहँदा राज्यका औपचारिक संस्थादेखि नागरिक समाजले समेत हेरेर बसिरहनु प¥यो । यसको अर्थ हाम्रा संस्था कति विकेन्द्रित, स्वायत्त र स्वक्रियाशील हुन सक्ने गरी बनाएछौँ भनेर मूल्याङ्कन गर्ने समय आएको हो । 

असल राजनीतिक संस्कारको अभाव : राजनीतिक असल संस्कारले समयसापेक्ष नीतिहरूको निर्माण तथा परिस्करण गरी कानुनको माध्यमबाट सुशासन हासिल गर्ने बाटो समात्छ । यसले राज्यको संस्थाहरूको स्वरूप र आकार निर्माण गरी ती नीति र कानुनको कार्यान्वयन गराउँछ । संस्थाहरूको नियामक कानुन र कार्यविधिको माध्यमबाट जनताको आकाङ्क्षालाई सार्वजनिक वस्तुका रूपमा सार्वजनिक सेवा प्रवाह गराउँछ । यसमा संस्थाहरूको कार्यक्षेत्र, कर्मचारीतन्त्रको स्वरूपलाई योग्यताको आधारमा जिम्मेवार बनाउँछ । 

नेपाल जस्तो देशमा राजनीतिक नैतिकता र सदाचारिता तथा परोपकारी सोचको अभावका कारण हरेक क्षेत्रमा राजनीतिकरण भएको छ । सबै क्षेत्रमा राजनीतिक हस्तक्षेपले अपराधको राजनीतिकरण हुँदा राजनीति आफैँ अपराधीकरण हुन पुग्छ । राजनीतिक संस्थामा लोकतन्त्रीकरणको अभावलाई स्वसुधारको बाधकको रूपमा देखिएको विषय खोज अनुसन्धानमा प्रशस्तै छन् । राजनीतिले संस्थाहरूको पदाधिकारी नियुक्तिदेखि कर्मचारीतन्त्रको सरुवा बढुवामा समेत प्रभाव पार्दा नागरिकलाई हुने सेवा प्रवाहमा त्यसको प्रत्यक्ष नकारात्मक असर परेको हुन्छ । राजनीतिक संस्कारका कारण नै नातावाद, कृपावाद र चाकडी चाप्लुसी प्रथा निरन्तर रह्यो । यसमा क्षमता भएका र सत्यनिष्ठामा रहनेहरू विक्षिप्त भए । यी विषय नवयुवाले निष्पक्ष रूपमा अवलोकन गरिरहेका हुन्छन् ।

आर्थिक वस्तु र लाभांश छनोटको दायरा : शासकीय पात्रहरूले तुलनात्मक रूपमा विकास हुँदै गरेको दाबी गर्ने गरेका छन् । कसमेकम गाउँमा बाटो पुग्यो, खानेपानी पुग्यो तर दुर्गमका पाखा भित्ताका नागरिक त्यही बाटो भएर विदेश गए । नयाँ पुस्ताले देखेको विश्वव्यापी आर्थिक वस्तुहरूको प्रयोग र त्यसका लाभांश प्रयोग गर्न उनीहरूलाई सधैँ बजारले हस्तक्षेप गरिरहेको हुन्छ । मोबाइलमा रिल हेरेर बसेको पुस्ता रिलजत्तिकै शीघ्र आवश्यकता पूरा गर्ने आशक्तिमा छन् । राजनीतिज्ञले राजनीतिक दर्शनमा समाजवाद वा अन्य जे वाद भने पनि आजको डिजिटल समाजलाई बजारले डो¥याइरहेको छ । विकसित देशको गिगबजारमा ५० घण्टा वा करिब तीन दिन काम गर्दा उसले नयाँ आइफोन किन्न सक्छ भने, ऊ त्यो गाउँसम्म पुगेको बाटोलाई माया गरेर गाउँमा बसिरहन्छ त ? 

बजारमा छनोटको दायरा फराकिलो छ । त्यहाँ मेरिटोक्रेसी वा क्षमताका आधारमा समावेशी हुन सकिन्छ भने क्षमता भएका मानिस घरका भित्ताको माया गरेर बस्दैन । नयाँ पुस्तालाई यही आदर्शले मार्गदर्शन गरिरहेको देखिन्छ । उनीहरू त्यो छनोटमा सहभागी हुन नपाउँदाको दोष सरकारलाई दिन्छन् । विकसित विश्वमा एडल्ट सिटीहरू बनेका छन् । रात्रिकालीन बजार छन् । यसले युवाको जीवनशैली र अर्थतन्त्रलाई विकासको मियोमा जोडिरहेको छ । ‘डिजिटल लिटरेसी’ ले विश्व बजारका वस्तुहरू प्रदर्शन गरिरहेका छन् तर यस्ता आधुनिक सहरमा गरिब देशका युवाको न त पहुँच छ न त राज्यको नीति । यसले युवा आक्रोशित छन् ।

डिफ्याक्टो डेमोक्रेसी अर्थात् सही लोकतन्त्र : नेपाल जस्ता देशमा नामका मात्र लोकतन्त्र आए । नागरिकले चुनावमा भोट हाल्न पाउनु र समानुपातिकका नाममा तरमारा वर्गले भाग लिइहरनु सही लोकतन्त्र होइन । बोल्न पाउनु मात्र लोकतन्त्रको उपलब्धि भनेर लामो समयदेखि भनिरहेको भााषा आफैँमा कर्कस आवाज सुनिइरहेको थियो । चुनाव जितेर गएका नेताहरूले युवाको प्रश्नमा ‘..तिमीले भनेर हुन्छ, मलाई जनताले चुनेर पठाएका हुन्’ भन्ने उत्तर दिँदा युवा पुस्ताका मन निकै कुँडिएको हुनु पर्छ । निर्वाचनमा नो भोट, राइट टु रिजेक्ट र देशको नागरिकले विश्वको जुन कुनामा काम गर्दै रहे पनि भोट हाल्न पाउनुपर्ने प्रावधान नरहँदासम्म लोकतन्त्र गणितमा आधारित मात्र हुने रहेछ । 

समाज रूपान्तरणको रेखा : शोधहरूमा नेपाली समाजलाई कलेक्टिभ समाजका रूपमा विश्लेषण गरेको पाइन्छ । पूर्वीय समाज लामो समयसम्म कलेक्टिभ समाजका रूपमा रहे । जापानसमेत लामो समयसम्म विदेशीबाट एकान्तमा बस्न रुचाउँथ्यो । पछिल्लो समय नेपाली समाजमा विदेशीहरू आएर काम गरेका छन् । नेपालीसमेत विदेश गएका छन् । अब क्रमशः नेपाली समाज ‘इन्डिभिज्युअलिस्टिक’ समाजतर्फ रूपान्तरणको मार्गमा छ । यस दृष्टिकोणले समाजका प्रत्येक मानव समान रूपमा सक्षम भएको हेर्न चााहन्छ । अधिकांश गरिब भएको समाजमा केही मानिसको उच्च जीवनशैलीले समाजलाई समस्यामा पा¥यो । सामाजिक सञ्जालमा नेपोकिडको मुभमेन्ट यही उदाहरण हो ।

उपर्युक्त विश्लेषणबाट शासकीय पात्रहरूले बुझ्नुपर्ने कुरा महासागर जत्तिकै गहिरो र घामजत्तिकै छर्लङ्ङ छ । सबै पक्ष मिलेर अब आउँदो निर्वाचन सफल पारी आउने सरकारबाट समयसापेक्ष शासकीय प्रणालीमा रूपान्तरण गर्ने गरी अघि बढ्न आवश्यक छ । यसका लागि जेनजी पुस्ता तथा समग्र पक्षले संयमित, विवेकशील र भविष्यदर्शी ढङ्गबाट व्यवहार प्रदर्शन गर्न आवश्यक देखिन्छ ।