• २२ वैशाख २०८३, मङ्गलबार

सूचनामा नागरिकको सहज पहुँच बनाउन आग्रह

blog

सूचनाको हकसम्बन्धी कार्यक्रममा प्रमुख आयुक्त डा. सुरेश आचार्यसहित अन्य अतिथिहरु ।

धर्बेन्द्र झा 

जनकपुरधाम, पुस ११ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायमा रहेको सूचनामा नागरिकको सरल र सहज पहुँच अभिवृद्धि गर्ने कार्यमा तदारुकतासाथ लाग्न सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।  

मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिडिया काउन्सिल मधेश प्रदेशले शुक्रबार आयोजना गरेको सूचनाको हकसम्बन्धी कानूनको प्रभावकारी कर्यान्वयन प्रमुख सूचना आयुक्तसहित सरोकारवालासँगको छलफल कार्यक्रममा प्रमुख आयुक्त आचार्यले यस्तो निर्देशन दिनुभयो । 

उहाँले सूचनाको प्रकृति दुई प्रकारको रहेको उल्लेख गर्दै सूचना मागेको प्रयोजन बुझेर दिन सक्ने खालका सूचना सहजरुपमा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । प्रमुख आयुक्त अर्चायले दिन सक्ने खालका सूचना उपलब्ध नगराएको खण्डमा राष्ट्रिय सूचना आयोगमा उजुरी पर्दा कारवाही समेत हुन सक्ने भएको त्यसतर्फ ध्यान दिन सबैमा आग्रह गर्नुभयो । 

मधेश प्रदेशको मन्त्रालयसहित विभिन्न कार्यालयमा सूचना अधिकारी तोक्नु पर्नेमा जोड दिँदै सूचनाको हकले नागरिकलाई दिएको अधिकारको विषयमा जानकारी गराउनुभयो । उहाँले कुन सूचना दिने कुन सूचना नदिने बारेमा प्रष्ट पार्दै सूचना लिने दिने बानीको विकास गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी भएका मधेश प्रदेश सरकारको विभिन्न मन्त्रालयका सचिव र सूचना अधिकारीहरुले प्रमुख आयुक्तसँग सूचना लिने दिने विषयमा लागेका विभिन्न खालका जिज्ञासा राखेका थिए । 

कार्यक्रममा मधेश प्रदेश सरकारका निमित्त प्रमुख सचिव रामकुमार महतो, राष्ट्रिय सूचना आयोगका सचिव दीर्घराज मैनाली, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव, मिडिया काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत ओमबिक्रम कटुवालसहितको उपस्थिति थियो ।