• २२ वैशाख २०८३, मङ्गलबार

असी हजार मेट्रिक टन मल ल्याउन सहमति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २२ गते । सरकारले भारतबाट जिटुजी (सरकार–सरकार) मार्फत ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सहमति दिएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल जिटुजीमार्फत खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न भारतसँग जिटुजीमार्फत एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन मल खरिदका लागि पत्राचार गरेको थियो । सोही अनुसार कृषि सामग्री कम्पनी लिमिटेडलाई पहिलो चरणमा ८० हजार मेट्रिक मल ल्याउन सैद्धान्तिक सहमति दिएको हो । 

पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारणले मलको आपूर्ति नियमित हुन नसकेकाले धानबालीलाई मलको आपूर्ति सहज बनाउन मन्त्रालयले भारतबाट जिटुजीमार्फत मल ल्याउन लागेको हो । 

साढे चार लाख मेट्रिक टन आयात

मुलुकमा साढे चार लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि ११ वैशाखसम्म चार लाख ४० हजार मेट्रिक टन रासायनिक मल आयात भएको हो । चार लाख ९१ हजार मेट्रिक टन मल खरिद गर्नका लागि टेन्डर आह्वान गरेकामा हालसम्म सो परिणाममा मल आयात भएको मन्त्रालयले जनाएको छ ।

एक लाख ६६ हजार २६७ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । जसमा ९३ हजार ४८५ मेट्रिक टन युरिया, ५४ हजार ४६७ मेट्रिक टन डिएपी र तीन हजार ६०१ मेट्रिक टन पोटास मौज्दात रहेको छ । मन्त्रालयका अनुसार पश्चिम एसियामा भएको युद्धका कारणले टेन्डर गरिएको मल समयमा आयात नहुँदा धानबालीमा मलको अभाव हुने देखिएको थियो । सोही अभाव पूर्ति गर्न सरकारले भारतबाट सरकारी प्रणालीमार्फत मल ल्याउन सहमति दिएको हो । चालु आवमा चार लाख ९१ हजार मेट्रिक टन मल खरिदका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले लक्ष्य अनुसार मल खरिद गर्न नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धानबालीका लागि (जेठ–असोज) सम्म दुई लाख ५० हजार मेट्रिक टन मल आवश्यक पर्छ ।