• २२ वैशाख २०८३, मङ्गलबार

राष्ट्रिय ब्याडमिन्टनमा ताप्लेजुङका तीन खेलाडी छनोट

blog

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि ताप्लेजुङबाट छनोट हुनुभएका मिलिन गुरुङ, भावनादेवी केदेम र आन्द्रेयस लिम्बू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, वैशाख २२ गते ।
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि ताप्लेजुङका तीन जना खेलाडी छनोट भएका छन् । कोशी प्रदेश स्तरीय प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि ताप्लेजुङका एक महिलासहित तीन जना खेलाडी छनोट भएका हुन् ।

जिल्ला ब्याडमिन्टन सङ्घका अनुसार आगामी वैशाख २९ देखि जेठ ३ गतेसम्म काठमाडौँमा हुने प्रतियोगिताका लागि कोशी प्रदेशबाट छनोट भएका १२ जना मध्ये ३ जना ताप्लेजुङका रहेका छन् । सोमबार सुनसरीमा सम्पन्न भएको प्रदेश स्तरीय प्रतियोगिताबाट पुरुष डबलतर्फ २, महिलातर्फ १ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको सङ्घ ताप्लेजुङका अध्यक्ष सुरेश सिंघक लिम्बूले जानकारी दिनुभयो ।

अध्यक्ष लिम्बूका अनुसार पुरुष डबलतर्फ कोशी प्रदेशबाट ४ जना छनोट हुँदा ताप्लेजुङका मिलिन गुरुङ र आन्द्रेयस लिम्बू तथा मोरङका महेश खड्का, लाक्पा शेर्पा पर्नु भएको छ । त्यस्तै कोशी प्रदेशबाट महिलातर्फ ६ जना छनोट हुँदा ताप्लेजुङका भावनादेवी केदेम पनि पर्नु भएको छ । अध्यक्ष लिम्बूका अनुसार भोजपुरका नङगल तामाङ, उदयपुरका रोजी राई, इलामका निसम सुब्बा, भोजपुरका एन्जिला राई र वैकल्पिकमा सुनसरीका सकिम्पा दाहाल राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु भएको छ ।

यस्तै पुरुष सिङ्गलतर्फ भोजपुरका विशाल तामाङ, इलामका दिवस शंखर, सुनसरीका संगम गिरी र वैकल्पिकमा झापाका धनेन्द्र बस्नेत छनोट हुनु भएको बताइएको छ ।