• २२ वैशाख २०८३, मङ्गलबार

मल्ल शताब्दी महोत्सव मनाइयो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २२ गते । समालोचक प्राडा वासुदेव त्रिपाठीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँ नेपाली साहित्यको देदीप्यमान नक्षत्र भएको बताउनुभएको छ । नइ एकेडेमीद्वारा आयोजित ‘विजय मल्ल शताब्दी महोत्सव’ को समापनका अवसरमा आइतबार वानीरा सङ्ग्रहालयमा आयोजित विशेष समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा महासमालोचक त्रिपाठीले डा. साधना पन्त ‘प्रतीक्षा’ कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’ नामक जीवनीकृति लोकार्पण गर्नुभयो । नइ एकेडेमीबाट प्रकाशित ती कृतिबारे चर्चा गर्दै प्रा. केशव सुवेदीले मल्लको नाट्य चेत र जीवनका विविध पक्षलाई पुस्तकले न्यायपूर्ण ढङ्गले समेटेको बताउनुभयो । 

मल्लको जन्मशताब्दीका अवसरमा आयोजित यस महोत्सवका क्रममा उहाँका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदान पु¥याउने नेपाल तथा भारतका ४५ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रकर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको जानकारी सो अवसरमा दिइयो । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा ग्रन्थकारद्वय डा. साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईले स्रष्टा मल्लको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । विसं १९८२ मा जन्मिएका मल्लको २०५६ सालमा निधन भएको थियो ।