• २२ वैशाख २०८३, मङ्गलबार

सरकारी जग्गा संरक्षण गर्न पालिकालाई प्रशासनको निर्देशन

blog

जिल्ला प्रशासन कार्यालय, बागलुङ । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख २२ गते ।
सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन दिएको छ ।

सोमबार जिल्लाका १० वटै पालिकालाई पत्राचार गर्दै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रशासनले निर्देशन दिएको हो । प्रशासनले सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, अभिलेख व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणसम्बन्धी कार्यमा विशेष ध्यान दिन स्थानीय तहलाई आग्रह गरेको छ ।

गृहमन्त्रालय, नेपालले सार्वजनिक जग्गा अतिक्रमण रोक्न तथा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले यहाँका स्थानीय तहलाई सक्रिय बनाउन परिपत्र गरेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।

स्थानीय तहलाई यसअघि पनि सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरिए पनि कार्यान्वयन प्रभावकारी नभएको भन्दै पुनः ध्यानाकर्षण गराइएको प्रशासनद्वारा जारी पत्रमा उल्लेख छ ।

प्रशासनले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउने, अभिलेख अद्यावधिक गर्ने, कानुनी प्रक्रिया पूरा गरी अतिक्रमण नियन्त्रण गर्ने तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहलाई सक्रिय हुन आग्रह गरेको छ ।