• २२ वैशाख २०८३, मङ्गलबार

मनाङका विद्यालय आइतबार पनि सञ्चालन

blog

यदुप्रसाद भट्ट
मनाङ, वैशाख २२ गते ।
हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय आइतबार पनि सञ्चालनमा आएका छन् । स्थानीय भौगोलिक अवस्था, आवासीय विद्यार्थीको व्यवस्था तथा जाडो बिदा व्यवस्थापनका कारण विद्यालयहरूले संघीय सरकारको बिदासम्बन्धी निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको जनाइएको छ ।

जिल्लामा चार वटा गाउँपालिका रहेका छन् । तीमध्ये दुर्गम मानिने नार्पाभूमि गाउँपालिकामा हाल बालविकास कक्षामात्र सञ्चालनमा छन् । कम विद्यार्थी भएकाले राज्यको ध्यान पर्याप्त नपुगेको स्थानीयले गुनासो गरेका छन् । यहाँका विद्यालयहरू स्थानीय आवश्यकताअनुसार सञ्चालन भइरहेका छन् ।

नासोँ गाउँपालिकास्थित प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले सबै विद्यार्थी आवासीय भएकाले विद्यालय नियमित सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीहरू विद्यालयमै बस्ने भएकाले लामो बिदा दिन सकिने अवस्था छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलसँग छलफल गरी आइतबार विद्यालय सञ्चालन गरिएको हो।” उहाँका अनुसार अधिकांश शिक्षक पनि आवासीय भएकाले आइतबार विद्यालय सञ्चालनमा समस्या नपरेको हो ।

त्यसैगरी चामे गाउँपालिकाको लोकप्रिय माध्यमिक विद्यालय पनि आइतबार सञ्चालनमा आएको छ । विद्यालयका प्रधानाध्यापक कृष्ण कोइरालाले हिमाली क्षेत्रको मौसम अनिश्चितता र समयको सदुपयोगलाई ध्यानमा राख्दै अभिभावकसँग छलफल गरी विद्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हिमाली क्षेत्रको अवस्था कठिन हुन्छ। पुस–माघमा बिदा नगरी हुँदैन, त्यसैले अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालन गरेका हौँ।” उहाँका अनुसार आइतबारको बिदा दशैं र तिहारको बिदामा समायोजन गर्ने गरी व्यवस्था गरिएको छ । साथै, हिमाली जिल्लाका लागि छुट्टै नीति आवश्यक रहेको उहाँले बताउनुभयो ।

दुर्गम क्षेत्रमा संघीय सरकारका नियमहरू व्यवहारिक रूपमा मेल नखाने स्थानीय सरोकारवालाको भनाइ छ । तिमाङस्थित गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल गुरुङका अनुसार जाडो बिदा कटौती गर्न नमिल्ने भएकाले अन्य समयमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “हामीले जाडो बिदा घटाउन सक्दैनौँ, त्यसैले अहिले विद्यालय सञ्चालन गरेका छौँ ।”

यता ङिस्याङ गाउँपालिकाको अन्नपूर्ण माध्यमिक विद्यालयमा भने आइतबार बिदा कायम गरिएको छ । विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले स्थानीय आवश्यकता र संघीय निर्णयबीच सन्तुलन मिलाउन कठिनाइ भइरहेको बताउनुभयो ।

समग्रमा मनाङका विद्यालयहरूले स्थानीय परिस्थिति र आवश्यकताअनुसार शैक्षिक गतिविधि सञ्चालन गरिरहेका छन् । हिमाली जिल्लामा एकरूप नीति लागू गर्दा व्यवहारिक समस्या देखिएको भन्दै स्थानीय तहलाई थप अधिकार दिनुपर्ने माग सरोकारवालाहरूले गरेका छन् ।