बेनी समाचारदाता
बेनी, वैशाख २२ गते । म्याग्दीको धवलागिरि गाउँपालिकास्थित धवलागिरि हिमालको फेदीमा रहेको पर्यटकीय स्थल दोभानमा सडक पुगेको छ । धवैलागिरि चक्रीय पदमार्गमा पर्ने तीन हजार मिटरको उचाइमा रहेको यस क्षेत्रमा सवारीसाधन सञ्चालन हुन थालेपछि पर्यटक तथा स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ । यस क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाले दोभानसम्म सडक पु¥याएको हो ।
यसअघि बगरदेखि दोभान पुग्न पूरै एक दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेकोमा सडक खुलेपछि अहिले बेनीदेखि करिब पाँच घण्टामै सवारीसाधनमार्फत यहाँ पुग्न सकिने भएको छ । जसले स्थानीय आर्थिक गतिविधि र आन्तरिक पर्यटनमा समेत सकारात्मक प्रभाव पार्न थालेको स्थानीय पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो ।
उहाँका अनुसार सडक पुगेपछि म्याग्दी हुँदै मुस्ताङ र धवलागिरि आरोहण गर्न जाने पर्यटकले धवलागिरि चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म सवारीसाधनको प्रयोग गरेर पुग्न थालेपछि चहलपहल बढ्न थालेको छ ।
दोभानमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले धवलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माण स्थलसम्म नौ किलोमिटर सडकको ट्र्याक खोलेको हो । जलविद्युत् आयोजनाका कारण दोभानसम्म सडक पुग्न सम्भव भएको स्थानीयवासी तिलिजाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसअघि बगरदेखि दोभान पुग्न भिर, जङ्गल र खोल्साको कठिन बाटो हुँदै पूरै एक दिन पैदल हिँड्नुपर्ने अवस्था थियो । अहिले जिप, मोटरसाइकल, ट्याक्टर र ट्रक सञ्चालनमा आएपछि आवतजावत मात्र होइन, ढुवानी गर्न समेत निकै सहज र छिटो भएको छ ।”
हाइड्रो भिलेज प्रवर्धक रहेको म्याग्दीखोला जलविद्युत् आयोजनाले गत पुस महिनादेखि बगरबाट डोजर र विस्फोटक पदार्थ प्रयोग गरेर बाँधसम्म पहुँचमार्ग निर्माण थालेको थियो । विद्युत् आयोजना प्रमुख उत्तम पौडेलले बगर–तातोपानी खण्डको भिरमा मार्ग खुलाउने काम भइरहेको र म्याग्दी नदीको किनारैकिनार ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालनको व्यवस्थामिलाएको बताउनुभयो ।