• २२ वैशाख २०८३, मङ्गलबार

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, वैशाख २२ गते ।
सर्लाहीको बागमती नगरपालिका–२, धरहरा चोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँका ७५ वर्षीय हरिबहादुर अधिकारीको मृत्यु भएको हो । अधिकारीलाई सोमबार साँझ हावाहुरी चलेको समयमा सडकमा हिँडिरहेका बेला नयाँरोडबाट बरहथवातर्फ गइरहेको बीआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनापछि मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–२, का २० वर्षीय शिवम कुशवाहालाई नियन्त्रणमा लिइएको छ ।   

मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जमै राखिएको पारिवारिकले जनाएको छ ।