बबई समाचारदाता
बबई (बर्दिया), वैशाख २२ गते । बर्दियामा सुकुमवासी बस्ती खाली गर्न जारी गरिएको सूचनापछि स्थानीयवासीले वैकल्पिक व्यवस्था गरिदिन सरकारसँग माग राखेका छन् । डिभिजन वन कार्यालय बर्दियाले एक साताअघि विभिन्न वनक्षेत्रमा बसोबास गर्दै आएका बस्ती १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेपछि प्रभावित समुदायले यस्तो माग राखेका हुन् ।
मधुवन नगरपालिका अन्तर्गत कोठियाघाट सामुदायिक वन, माचडचोक, गुलरिया नगरपालिका–२ को सङ्गमबस्ती, बारबर्दिया नगरपालिका क्षेत्रका खुरखुरेफाँटा र रामबस्तीलगायतका स्थानमा बसोबास गर्दै आएका सुकुमवासी उक्त सूचनाले दैनिक जीवन प्रभावित भएको बताउँछन् । अधिकांश परिवार ज्याला मजदुरीमा निर्भर रहेकाले सूचना जारी भएयता काममा जानसमेत कठिन भएको छ ।
डिभिजन वन कार्यालयका अनुसार २०७४ सालयता जिल्लामा करिब तीन सय हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । अतिक्रमित क्षेत्र खाली गराउन यसअघि पनि पटक पटक सूचना जारी गरिए पनि कार्यान्वयन हुन सकेको थिएन । यस पटक भने कडाइसाथ प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
स्थानीयवासी कपिल शाहीले सुकुमवासीको दिगो व्यवस्थापन नगरी बस्ती खाली गर्न निर्देशन दिइनु सान्दर्भिक नभएको बताउनुभयो । उहाँले सरकारले उचित विकल्पसहित पुनस्र्थापना गर्नुपर्ने माग गर्नुभयो । त्यस्तै मधुवन–३ का वीरबल शाहीले आफूहरू दशकौँदेखि सो क्षेत्रमा बसोबास गर्दै आएको र वनविनाश गर्ने उद्देश्य नभएको स्पष्ट पार्नुभयो ।
सङ्गमबस्तीमा मात्र करिब एक हजार घरपरिवार २०६० सालअघिदेखि बसोबास गर्दै आएका छन् । तीमध्ये धेरै जसो रुकुम, जाजरकोट, दैलेखलगायत पहाडी जिल्लाबाट आएका परिवार रहेका छन् ।
वन कार्यालयको सूचनापछि राजनीतिक दलका प्रतिनिधि पनि बस्तीमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य ठाकुरसिंह थारू र श्रीधर पोखरेलले सुकुमवासी हटाउने प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने धारणा राख्नुभएको छ भने अन्य दलका स्थानीय नेताले पनि विरोध जनाएका छन् ।