गुणबहादुर रोका
सुलीकोट, वैशाख २२ गते । उत्तरी गोरखाको आरुघाट–माछीखोला–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७ स्थित न्याउली खोलामा मोटरेबल पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत निर्माण गरिएको उक्त पुल उत्तरी गोरखा जोड्ने मुख्य संरचना हो ।
पुल निर्माणसँगै उत्तरी गोरखा पुग्ने स्थानीय तथा आन्तरिक एवं बाह्य पर्यटकलाई वर्षभर सवारी आवागमनमा सहज हुने धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “उत्तरी गोरखा पुग्ने जो–कोहीले पनि वर्षायाममा खोला तर्न जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो। गाउँपालिका र पूर्वाधार कार्यालय गोरखाले निर्माण कम्पनीलाई काम अघि बढाउन ताकेता गरेपछि निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको हो।”
पुल निर्माण सम्पन्न भएपछि वर्षभर सवारी आवागमन सहज हुनुका साथै दूरी छोटिने र उत्तरी गोरखावासीले चर्को भाडा तिरेर खाद्यान्नलगायत सामग्री ढुवानी गर्नुपर्ने अवस्था अन्त्य हुने धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
न्याउली खोला पुल निर्माणका लागि २०७९ साउन २३ गते सूर्यदय कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ४ करोड ३४ लाख ७५ हजार ३५९ रुपियाँ लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ साउन २२ गते निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारण देखाउँदै ढिलाइ भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले भौगोलिक कठिनाइलगायत कारण देखाउँदै एक पटक म्याद थपको माग गरेपछि २०८३ साउन २२ गतेसम्म म्याद थप गरिएको थियो । त्यसपछि निर्माण कार्य तीव्र पारिँदा हालसम्म करिब ९० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।
पुल निर्माण सम्पन्न भएपछि उत्तरी गोरखावासी तथा आन्तरिक र बाह्य पर्यटकको आवागमन सहज हुनुका साथै व्यापार–व्यवसाय विस्तार, आम्दानी वृद्धि तथा पर्यटकीय गन्तव्य मनास्लु क्षेत्रमा पुग्ने पर्यटकलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।