• २२ वैशाख २०८३, मङ्गलबार

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढ्यो

blog

बन्दीपुर बजारमा घुम्दै गरेका विदेशी पर्यटकहरू । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, वैशाख २२ गते ।
‘पहाडकी रानी’ उपनामले प्रख्यात तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पछिल्लो समय विदेशी पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ । पुराना घरहरूको वास्तुकला, प्राकृतिक सौन्दर्य, सिद्ध गुफा र हिमालको दृश्यावलोकनका लागि विभिन्न देशका पर्यटकहरूको रोजाइमा बन्दीपुर पर्न थालेको हो ।

बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष बैंस गुरुङका अनुसार यो याममा बन्दीपुर आउने विदेशी पर्यटकहरूमध्ये स्विट्जरल्याण्ड, जर्मनी, ताइवान र दक्षिण कोरियाका नागरिकको सङ्ख्या बढी छ । यसबाहेक जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, डेनमार्क, बेलायत, अष्ट्रेलिया र भारत लगायतका करिब दुई दर्जनभन्दा बढी देशका पर्यटकहरू बन्दीपुर भ्रमणमा आउने गरेका छन् ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पछिल्लो समय बन्दीपुरमा विदेशी पर्यटकहरूको आगमन उत्साहजनक रहेको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुरको मौलिक पहिचान, यहाँको शान्त वातावरण र स्तरीय पर्यटकीय पूर्वाधारका कारण विदेशी पर्यटकहरू आकर्षित भएका हुन् । यसले बन्दीपुरको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठुलो मद्दत पु¥याएको छ ।”

सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेपछि बन्दीपुरमा आन्तरिकसँगै विदेशी पर्यटकहरूको बसाइ पनि लम्बिएको व्यवसायीहरू बताउँछन् । यसअघि छोटो समयका लागि आउने पर्यटकहरू अहिले बजार क्षेत्रका होटल तथा स्थानीय होमस्टेहरूमा लामो समय बिताउन थालेका छन् ।

पोखराबाट ७४ किलोमिटर र काठमाडौँबाट १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुर पृथ्वी राजमार्गको डुम्रे बजारबाट नौ किलोमिटर पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ । यस्तै, बन्दीपुर गाउँपालिका–१ ठुलो ढुङ्गाबाट केबुलकार चढेर पनि सहजै बन्दीपुर पुग्न सकिने भएपछि यहाँको पर्यटनमा थप आकर्षण थपिएको छ ।