काठमाडौँ, पुस १० गते। नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि ड्रोनबाट खिचिएका तस्बिरको विशेष फोटो प्रदर्शनी हुँदैछ। फोटो पत्रकार नवीनबाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालको विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ–बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने तस्बिरहरू राखिनेछ।
नेपालका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्य तथा प्रचार प्रसारको पर्खाइमा रहेका स्थानको आकाशबाट देखिने दृश्य प्रस्तुत गर्न प्रदर्शनीको आयोजना गरिएको फोटो पत्रकार गुरुङले बताउनुभयो।
“प्रदर्शनीमा केही पर्यटनमा लोकप्रिय रहेका त केही जुर्मुराउँदै गरेका साथै भविष्यमा पर्यटनको प्रखर सम्भावना बोकेका गाउँ–ठाउँका फोटोहरु ड्रोन मार्फत कैद गरिएको छ। चराहरूले देख्ने दृष्टिकोणबाट यी पर्यटकीय क्षेत्रहरू कस्तो देखिन्छन् भन्ने अवधारणामा आधारित रहेर तस्बिरहरू प्रस्तुत गरिएको हो’’, उहाँले भन्नुभयो।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चाकर्मी संघ नेपालले यो प्रदर्शनीको आयोजना गर्न लागेका हुन्। नेपालमा ड्रोन प्रविधिबाट कैद भएका तस्बिरहरूको यस्तो प्रदर्शनी पनि पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी छ।
प्रदर्शनी आइतबारसम्म चल्नेछ।