• २२ वैशाख २०८३, मङ्गलबार

रारा गोल्डकप फाइनलमा बिर्तामोड र आयोजक भिड्ने

blog

धनकुटाको राजारानीमा सञ्चालित १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिता । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), वैशाख २२ गते ।
जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी (झापा) र आयोजक रारा फुटबल क्लब (राजारानी) भिड्ने भएका छन् । फाइनल खेल मङ्गलबार राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।

आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक रारा फुटबल क्लबले आरआईएफसी काठमाडौँलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले फ्रिकिकमार्फत निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याउनुभएको हो ।

त्यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड एफसीले सलहेश फुटबल क्लब सिराहालाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । बिर्तामोड गत वर्षको विजेता टोली पनि हो ।

धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीमा रारा फुटबल क्लबको आयोजनामा वैशाख १८ गतेदेखि सुरु भएको प्रतियोगिता वैशाख २२ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपियाँ र उपविजेता टोलीले ३ लाख रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलमा विधागत पुरस्कार तथा म्यान अफ द म्याचको व्यवस्था गरिएको रारा फुटबल क्लबका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब (मोरङ), गाईघाट युनाइटेड क्लब (उदयपुर), डाँडाबजार फुटबल क्लब (धनकुटा), सलहेश युथ क्लब (सिराहा), बिर्तामोड युनाइटेड क्लब (झापा), आरआईएफसी (काठमाडौँ)र धरान फुटबल क्लब (सुनसरी) गरी आठ टोलीको सहभागिता रहेको छ ।