कोकिला ढकाल
इलाम, पुस ११ गते । गएको असोज १८ गतेको बाढीपहिरो र विपदपछि उत्पन्न असहज परिस्थितिमा उद्धार र राहतको कार्यमा सहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका दश संस्थालाई सम्मान गरेको छ ।
विपद्का समयमा सूचना र सञ्चारका क्षेत्रमा योगदान गरेको भन्दै नेपाल पत्रकार महासंघ इलाम, राहत र उद्धारमा काम गरेको भन्दै उद्योग वाणिज्य संघ इलाम, नेपाल रेडक्रस सोसाइटी इलाम, गैसस महासंघ इलाम, पूूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघ इलाम, निर्माण व्यवसायी संघ, होटल एशोसिएसन, गैसस महासंघलाई सम्मानपत्रले प्रशासन कार्यालयले सम्मान गरेको हो ।
यस्तै, विपद्का समयमा काम गर्ने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराई, जिल्ला ट्राफिक कार्यालय प्रमुख लिलानाथ घिमिरे र विद्युत प्राधिकरण इलामका तात्कालिन प्रमुख बिजलीप्रसाद यादवलाई सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिसस प्रमुख र प्रजिअ नेपालले ती संस्था र व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।
असोज १८ को विपद्मा परी इलाममा ३९ जनाको ज्यान गएको थियो । एक जनाको अवस्था अझै वेपत्ता रहेको छ । सो विपद्मा जिल्लामा आठसय बढी घरमा पूर्ण र आंशिक क्षति भएको छ ।