जेनजी आन्दोलनपछि देश र तरल अवस्थाबाट गुज्रिरहेको छ । जेनजीले परिवर्तनका लागि उठाएको आवाजले पुरानो राजनीतिक संरचना हल्लाइदिएको छ तर नयाँ दिशा अझै स्पष्ट छैन । परिवर्तनको लहरसँगै आशा र अपेक्षाको बिउ रोपिएको थियो, त्यसले नयाँ किरण दिन सकेको छैन । आन्दोलन सकियो तर त्यसपछि मुलुकलाई कहाँ पु¥याउने भन्ने ठोस दृष्टिकोण र योजनाको अभाव देखिनु नै अहिलेको सङ्कटको मूल जरो बनेको छ । जेनजीले आवाज उठाए, शासक बदलिए तर शासनको सोच र शैली बदलिन सकेन भन्ने आवाज उठिरहेको छ ।
लोकतान्त्रिक भनिएका दलमा एक किसिमको अस्तित्व सङ्कट छ । बाहिरबाट उनीहरू लोकतन्त्रवादी देखिए पनि भित्री रूपमा सत्ताको लोभ र अस्तित्व रक्षाको अघोषित युद्धमा व्यस्त छन् । दलभित्रका शक्ति समूहबिचको सङ्घर्ष, नेताहरू माझको अविश्वास र सङ्गठनभित्रको अस्वस्थ प्रतिस्पर्धाले दलहरूलाई दिशाहीन बनाएको छ । नेताहरूमा राष्ट्रको हितभन्दा व्यक्तिगत भविष्य र राजनीतिक अस्तित्वलाई सुरक्षित राख्ने प्रवृत्ति बलियो भएको छ । यही कारण, जनता दलहरूको आन्तरिक झगडाबाट बिथोलिएका छन् र ‘लोकतन्त्रको रक्षा’ भन्ने नाराले पनि विश्वसनीयता गुमाउँदै गएको छ ।
पुरानो सोच र व्यवहारको बहिर्गमन अत्यावश्यक भइसकेको छ । नयाँ चेतना जागृत भइरहेको अवस्थामा नयाँ सोच र प्रविधियुक्त पुस्तालाई आफ्ना अनुभव र अनुभूति साझा गर्दै पुरानो नेतृत्वले अविभावकत्व ग्रहण गर्ने समय आएको छ ।
राजनीतिका कारण सुरक्षा संयन्त्र पनि पहिलेको अवस्थामा फर्किन सकेको छैन । जेनजी आन्दोलन र राजनीतिक अस्थिरताले सुरक्षाको संस्थागत ढाँचा कमजोर बनाएको थियो । आन्दोलनको नेतृत्वकर्ताले परिवर्तनपछि सुरक्षालाई सुधार्ने, जनमुखी बनाउने र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने वाचा गरे तर त्यो वाचा आज पनि अधुरो छ । प्रशासनमा दलगत प्रभाव अझै पनि हाबी छ । शान्ति र स्थायित्वका लागि आवश्यक विश्वास पुनस्र्थापित हुन सकेको छैन । त्यसैले त मुलुकमा ‘राज्यको उपस्थिति कमजोर छ’ भन्ने धारणा बलियो बन्दै गएको छ ।
प्रतिनिधि सभाको निर्वाचन घोषणा भइसकेको छ तर त्यसले उत्साह जगाउन सकेको छैन । जनतामा भ्रम छ– चुनाव साँचो अर्थमा परिवर्तन ल्याउने माध्यम बन्ने हो वा फेरि पनि पुरानै चेहराको प्रतिस्पर्धा मात्रै दोहोरिने हो ? जेनजी आन्दोलनले नयाँ पुस्ताको राजनीतिक चेतना जगाएको थियो, उनीहरूले राजनीतिक विकल्प खोज्दै विभिन्न पुराना दलबाट नयाँ र नयाँ दलबाट विश्वास व्यक्त गरेका छन् । नयाँ शक्ति पनि अब आन्तरिक विवाद, नीति अस्पष्टता र सङ्गठनात्मक कमजोरीका कारण विश्वसनीय बन्न सकेका छैनन् । पुराना दलमा जनविश्वास गुम्दै गएको छ, नयाँ दलहरूमा विश्वास जम्न सकेको छैन । यही द्विविधाले देशलाई दिशाहीन बनाएको छ ।
जेनजीहरू, जसले आन्दोलनको मेरुदण्डको भूमिका खेले, अझै पनि असन्तुष्ट छन् । उनीहरूको माग–भ्रष्टाचारीलाई कारबाही, शिक्षा, रोजगारी, समान अवसर र पारदर्शी शासन, अझै पनि सम्बोधन भएको छैन भन्ने गुनासो यथावत् छ । यही असन्तोषले समाजमा ‘राजसंस्था फर्काउने’ आवाज पनि उठेका छन् । यो स्थिति भनेको सोचनीय हो किनभने जनतासँग नजोडिने लोकतन्त्र दीर्घकालीन रूपले स्थिर रहन सक्दैन ।
चुनाव हुने/नहुने अनिश्चितताले जनताको मनोबल घटाइरहेको छ । राज्यका संस्थाहरूले जनविश्वास गुमाएपछि चुनाव केवल औपचारिकता बन्न सक्छ । चुनाव भयो भने पनि परिणाम स्पष्ट छैन । साना दल, नयाँ दल र पुराना दल सबैमा मत विभाजन हुने सङ्केत छ । कुनै पनि दलले पूर्ण बहुमत ल्याउने सम्भावना देखिँदैन । यस्तो अवस्थामा पुरानै गठबन्धनको संस्कृति ब्युँतिने सम्भावना प्रबल छ । गठबन्धन आदर्श र नीति होइनन्, अवसर र स्वार्थका आधारमा बन्ने भएकाले स्थायित्व दिन सक्दैनन् । गठबन्धनको सरकार बन्ने, भत्किने र पुनः बन्ने क्रमले देशलाई दीर्घकालीन नीतिगत दिशाहीनतामा फँसाइराख्ने छ ।
यो समस्याको मूल समाधान के हो त ? देशभक्त नागरिकको दृष्टिमा उत्तर सरल छ–राष्ट्रले पुनः मूल्य र सिद्धान्तमा आधारित राजनीति निर्माण गर्नु पर्छ । नेताहरूले आत्मसमीक्षा गर्नु पर्छ कि लोकतन्त्र केवल सत्ताको खेल होइन, जिम्मेवारीको प्रणाली हो । जबसम्म राजनीतिक दलहरूले दलभन्दा माथि देश र नागरिकको हितलाई प्राथमिकता दिन सक्दैनन्, तबसम्म यो अस्थिरता अन्त्य हुँदैन । राष्ट्रको स्थायित्वका लागि दलगत निष्ठाभन्दा राष्ट्रिय निष्ठा बलियो हुन जरुरी छ ।
राज्यका संस्थाहरूलाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने काम अब ढिलो गर्नु हुँदैन । सुरक्षादल, प्रशासन, न्यायपालिका र निर्वाचन आयोगमा दलगत हस्तक्षेप रोक्न सकिएन भने लोकतन्त्रको आत्मा कमजोर रहन्छ । जनताले चाहेको लोकतन्त्र भनेको उत्तरदायी नेतृत्व, पारदर्शी शासन र समान अवसर हो । ती आधार पुनस्र्थापित गर्न सरकार, दल र नागरिक समाज सबैले गम्भीर आत्म मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ ।
तरल राजनीतिमा सबैभन्दा ठुलो चुनौती केवल नेतृत्वको असफलता होइन, नागरिक चेतनाको कमजोरी पनि हो । जब जनता भावनामा बग्छन् र नीति, सिद्धान्त र दीर्घकालीन सोचभन्दा क्षणिक असन्तोषका आधारमा निर्णय लिन्छन्, तब देशलाई सही दिशा दिन सक्ने सम्भावना क्षीण बन्छ । लोकतन्त्र जनताको भागीदारीमा टिकेको व्यवस्था हो । त्यो भागीदारी केवल मतदानमा सीमित रह्यो भने, प्रणाली अधुरो हुन्छ । नागरिकले निरन्तर सचेत र जिम्मेवार रहँदा मात्र लोकतन्त्र सशक्त बन्छ ।
राजनीतिमा नयाँ पुस्ताको उदयले परिवर्तनको सङ्केत त दिएको छ तर ती युवाशक्तिको सङ्गठनात्मक परिपक्वता र वैचारिक दृढतामा अभाव देखिन्छ । जनभावनालाई दीर्घकालीन राजनीतिक दृष्टिकोणमा रूपान्तरण गर्न सक्ने क्षमता अझै कमजोर छ । अबको समयमा नाराभन्दा नीतिको, आन्दोलनभन्दा संस्थाको र भावनाभन्दा विवेकको राजनीति चाहिन्छ ।
राष्ट्रको भविष्य केवल नेताको हातमा होइन, जनचेतनाको स्तरमा पनि निर्भर गर्छ । जब नागरिकले अस्थिरतालाई भाग्य मानेर मौन बस्छन्, तब असक्षम नेतृत्वले देशलाई जकडिराख्छ । जब जनताले विवेक र देशभक्तिको संयोजन गरेर नेताबाट जवाफदेही शासन माग्छन्, तब मात्र राष्ट्रले स्थायित्व र प्रगतिको बाटो पाउँछ ।
नेपालको पुनर्निर्माण अब केवल भौतिक पूर्वाधारमा होइन, नैतिक र वैचारिक पुनर्जागरणमा आधारित हुनु पर्छ । नेतृत्वले राष्ट्रका लागि सोच्ने, नागरिकले जिम्मेवारी बोध गर्ने र संस्था निष्पक्ष भएर काम गर्ने वातावरण बन्यो भने मात्र यो सङ्क्रमणको अन्त्य सम्भव छ । जेनजी आन्दोलनले देखाएको चेतना एक शक्तिशाली सम्भावना हो, जसले देशलाई नयाँ राजनीतिक संस्कृतितर्फ लैजान सक्छ । त्यस चेतनालाई संस्थागत रूप दिन सकिएन भने, त्यो ऊर्जाले केवल निराशा र विभाजन मात्र जन्माउँछ । अबको चुनौती आन्दोलनको भावना जोगाउने र त्यसलाई दीर्घकालीन सुधारमा रूपान्तरण गर्ने हो । त्यो कार्य नेताहरूको जिम्मेवारी मात्रै होइन, नागरिकको पनि कर्तव्य हो ।
नेपालको इतिहासले देखाएको छ–यो देशलाई कहिल्यै विदेशी शक्तिले जित्न सकेन, नझुकाउन सक्यो । आज हामी आफ्नै असफल नेतृत्वको स्वार्थ, विभाजन र लापर्बाहीका कारण मानसिक रूपमा झुकिरहेका छौँ । देश बचाउने जिम्मेवारी फेरि जनतामाथि आएको छ । यो देश बाँचोस्, लोकतन्त्र बाँचोस्, र हाम्रो भविष्य विश्वासमा आधारित होस् भन्ने चाहना साँचो देशभक्त हृदयमा छ भने, हामी सबैले दलभन्दा माथि उठेर राष्ट्रको सोच निर्माण गर्नै पर्छ ।
नेपाललाई फेरि स्थायित्व र सम्मानको बाटोमा फर्काउन जनचेतनालाई जागृत राख्न जरुरी छ । चुनाव होस् वा आन्दोलन–दुवैको उद्देश्य राष्ट्रलाई सुधार्नु हो, विभाजन र द्वन्द्व बढाउनु होइन । लोकतन्त्र भनेको केवल शासनको स्वरूप मात्र होइन, एक संस्कार हो–जहाँ विचार भिन्न हुन सक्छ तर राष्ट्र एक हुन्छ । यही बोध पुनस्र्थापित गर्न सकियो भने, आजको अस्थिरता केवल एउटा सङ्क्रमणकालीन अध्याय बन्न सक्छ, जसको अन्त्यमा नयाँ, सबल र आत्मविश्वास सहितको नेपाल उदाउने छ ।