रामकृष्ण बोहरा
बागलुङ, कात्तिक २० गते । स्वास्थ्य बिमामा आकर्षण बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा बिमाबाट उपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।
जिल्लाका सबै स्वास्थ्य चौकीमा हरेक वर्ष सेवाग्राही बढिरहेका छन् । धौलागिरि प्रादेशिक अस्पतालमा बिमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
अस्पतालमा वर्षमा ६९ हजार बिरामीले स्वास्थ्य बिमाको सेवा लिएको मेडिकल सुपरिटेन्डेन्ट डा.किरण तिवारीले बताउनुहुन्छ ।
बिमाबाट ग्रामीण क्षेत्रमा सेवा लिनेको सङ्ख्या वर्षमा दुई लाख हाराहारी रहेको स्वास्थ्य बिमा बोर्डका संयोजक नारायण शर्माले बताउनुभयो ।
शल्यक्रिया सेवा लिनेगरी धौलागिरि प्रादेशिक अस्पतालमा आउनेको सङ्ख्या पनि बढिरहेको शर्माको भनाइ छ । ‘‘स्वास्थ्य बिमा बारे प्रभावकारिता बुझाउन जोड्नुपर्नेछ’’ तिवारीले भन्नुभयो, ‘‘हरेक वर्ष सेवाग्राही बढिरहेकोले महत्व बुझ्ने र बुझाउने क्रम पनि जारी छ ।’’
आर्थिक वर्ष २०७७÷७८ मा १९ हजार ५३५ जनाले धौलागिरि अस्पतालबाट सेवा लिएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा ३२ हजार ७५४ जनाले सेवा लिएका छन् । क्रमशः ४८ हजार ४४२ ले सेवा लिएका थिए भने अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा त्यो सङ्ख्या ६८ हजार ६७८ पुगेको छ । गत आर्थिक वर्षमा पनि ६९ हजार ६०८ जनाले सेवा लिनुभएको छ ।
विशेषगरी, थाइराइड, मधुमेह, मुटुरोग र उच्च रक्तचापजस्ता दीर्घरोगको औषधी अस्पतालको फार्मेसीमा नपाएको गुनासो बिरामीले गरेपछि गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण पाठकले छड्के अनुगमन गर्नुभएको थियो ।
अस्पतालमा रकम प्राप्त नभई टेन्डर प्रक्रियामा जान ढिला भएर औषधी सकिएको पुष्टि भएको थियो । बजेट खर्च नभएपछि पाठकले तत्काल औषधीको समाधानमा काम गर्न निर्देशन दिनुभएको थियो ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.किरण तिवारीले अस्पतालको फार्मेसीमा केही समस्या भएको स्वीकार गर्दै तिहारपछि औषधी टेन्डर भैसकेकोले अब समस्या नपर्ने दाबी गर्नुभयो ।
‘‘बिरामीको सङ्ख्या बढ्न थालेपछि अस्पतालले हरेक वर्ष औषधी र सेवालाई प्रभावकारी बनाइरहेको छ’’ डा. तिवारीले भन्नुभयो ।