• ३० वैशाख २०८३, बुधबार

शिवराज अस्पताल हिनामिना प्रकरण : बैङ्कका कर्मचारीसहित पाँच जना पक्राउ

blog

शिवराज आधारभूत अस्पतालको भवन । तस्बिर: जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, वैशाख ३० गते । कपिलवस्तुको शिवराज अस्पतालको ३८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । बैङ्कमा दाखिला गरिएको भनिएको रकम खातामा नदेखिएपछि सुरु भएको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा नेपाल बैङ्क लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमल भण्डारी र तत्कालीन चन्द्रौटा शाखाका कार्यालय सहयोगी (हाल मणिग्राम शाखा) विक्रम केसी रहेका छन् । यस्तै, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमित पाण्डे र फार्मेसी सहायक रुक्सना खातुन पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले पक्राउ परेकाहरूमाथि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण (अडिट) का क्रममा अस्पतालको खातामा जम्मा गरिएको भनिएका १२८ वटा भौचरको रकम बैङ्क अभिलेखमा नभेटिएपछि सो प्रकरण बाहिर आएको थियो । अस्पतालका अध्यक्ष एवं वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेको जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको पनि बयान लिने क्रम जारी रहेको जनाएको छ ।