सहदेव बस्नेत
जाजरकोट, वैशाख ३० गते । जाजरकोटको भेरी नगरपालिका–४, पानीट्याङ्कीस्थित भित्रि सडक खण्डमा आज बिहान जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
बिहान करिब १० बजे खलङ्गा बजारदेखि भेरी नगरपालिका–६, नेटा बजारतरफ जाँदै गरेको रा. १ च. ९२९ नम्बरको स्टेसनरी सामान बोकेको जिप दुर्घटनामा परेको हो । जिप सडकमा उकालो चढ्ने क्रममा अचानक पछाडि (ब्याक) सरेर सडकभन्दा करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिप चालक दाङको तुलसीपुर उपमहानगरपालिका–६ निवासी ३७ वर्षीय टोपबहादुर बस्नेत घाइते हुनुभएको छ । उहाँको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीर खड्काका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको र त्यहाँ उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।